धरान । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकका विषयमा गठबन्धन दलहरूले एमालेका विरुद्धमा भ्रम फैलाएको बताएका छन् ।

उनले जन्मसिद्ध नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको धारणा रहेको भन्दै कोही पनि नेपाली नागरिकले नागरिकता पाउनका लागि दुःख पाउन नहुने बताए ।

आइतबार एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठकमा बोल्दै ओलीले नागरिकताको समस्या पनि समाधान हुनुपर्छ भनेरै आफ्नो नेतृत्वको सरकारका पालामा विधेयक ल्याएको तर, माओवादीले तीन वर्षसम्म संसदीय समितिमा रोकेको बताए ।

बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचनमा पार्टीलाई बहुमत हासिल गराउने दृढ आत्मविश्वास र सङ्कल्पका साथ लाग्न निर्देशन दिए । उनले सिङ्गो राष्ट्र जोगाउनका लागि एमालेले निर्वाचनमा पार्टीले विजय हासिल गर्नुपर्ने बताए ।

बैठकले निर्वाचन परिचालन कमिटीको कामलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि सचिवालय गठन गरेको छ । सचिवालयमा पार्टीका केन्द्रीय पदाधिकारीहरू, निर्वाचन विभागका उपप्रमुख र सचिव, प्रचार तथा प्रकाशन विभागका उपप्रमुख र सचिव, कानून विभागका प्रमुख, उपप्रमुख र सचिव, केन्द्रीय कार्यालयका सचिव र सातवटा जनसङ्गठनका अध्यक्षहरू रहेका छन् ।