धरान । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपालले धरानका नगर प्रमुखको जनप्रिय कामप्रति कार्यपालिका बैठकमा जनप्रतिनिधिहरूले अमर्यादित कार्य गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला अध्यक्ष अमर इजम लिम्बू तथा सचिव निर्मल राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘धरानको गरिमालाई उँचो राख्दै चर्चाको शिखर चुम्न सफल भएको अवस्थामा कार्यपालिकाजस्तो संवेदनशील र गरिमामय बैठकमा जनप्रतिनिधिहरूद्वारा नै अमर्यादित, लज्जास्पद र अशोभनीय रूपमा प्रस्तुत भई अवरोध सिर्जना गरी असहयोग गर्न खोजेकोप्रति ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘कथित विभिन्न संस्थालगायत दलको मखुण्डो ओढेर पूर्वाग्रही रूपमा सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न माध्यमबाट असहयोगको स्थिति सिर्जना गरेकोमा पार्टीको ध्यानाकर्षण भएको छ ।’

यस्ता क्रियाकलाप तथा गतिविधि तत्काल बन्द गरी नगर प्रमुख हर्कराज राईलाई सहयोग गर्न पनि विज्ञप्तिमार्फत् आग्रह गरिएको छ । मञ्चले गुण र दोषका आधारमा परिस्थितिअनुरूप जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ ।