बिर्तामोड । सङ्घीय लिम्बुवान पार्टी नेपालले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनमा सहभागिता जनाउने निर्णय गरेको छ । पार्टीको बुधबार र बिहीबार बिर्तामोडमा भएको बैठकबाट मङ्सिरको निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

‘नेपालको संविधान २०७२’ जारी भएपछि सो पार्टीले कुनै पनि निर्वाचनमा भाग लिएको थिएन । यसपटक भने निर्वाचनलाई कार्यनीतिका रूपमा उपयोग गर्नेगरी भाग लिने निर्णय भएको पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले जानकारी दिए । लिम्बुवान पार्टीले स्वतन्त्रबाट उम्मेदवारी दिने भएको पालुङ्वाले बताए । उनले निर्वाचन आयोगले जातीय तथा क्षेत्रीय पहिचान झल्कने पार्टीको नाम भएको भन्दै मान्यता नदिएकाले स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरिएको बताए ।

पालुङ्वाले पार्टीले भन्दै आएको अरुणपूर्वका ९ जिल्लामा माउ उम्मेदवार उठाउने निर्णय गरेको बताए । पालुङ्वाका अनुसार पूर्वका ९ जिल्लाका २१ क्षेत्रमा प्रतिनिधिसभाको उम्मेदवार रहन्छन्भने प्रदेशसभाको ४२ क्षेत्रमै उम्मेदवार उठाउने तयारी भइरहेको छ । निर्वाचनमा भाग लिनका लागि अध्यक्ष पालुङ्वाको नेतृत्वमा ११ सदस्यीय चुनावी घोषणा–पत्र निर्माण तथा निर्वाचन परिचालन समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । निर्वाचन परिचालन गर्न पार्टीको विशेष सङ्गठन लिम्बुवान काङ्सोरे फोर्स गठन तथा परिचालनको कार्यादेश तयार गरिएको पालुङ्वाले बताए ।

पालुङ्वाले सदनबाट लिम्बुवान राज्यको माग स्थापित गर्न निर्वाचनलाई आन्दोलनकै रूपमा अघि बढाउने बताएका छन् । उनले लिम्बुवान विरोधी दलको भण्डाफोर अभियान सञ्चालन गर्नेसमेत बताए । पार्टीका सर्वमान्य नेता वीर नेम्वाङले नेपालको संविधानका कतिपय प्रावधान ठीक भए पनि ७ वटा प्रदेश बनाउने योजना गलत भएको बताए । पृथ्वीनारायण शाहले मान्यता दिएको तथा बीपी कोइरालाले अनुमोदन गरेको माग गणतन्त्रमा आउँदा हराउनु दुःखद् भएको उनको भनाइ थियो । लिम्बुवानको माग गर्ने समूहले संविधान जलाउने, च्यात्ने काम नगरेको भन्दै नेम्वाङले १८३१ को सन्धि कार्यान्वयन र वर्तमान प्रदेश नम्बर १ खारेज प्रमुख लक्ष्य भएको बताए । उनले लिम्बुवानको मुद्दा जातीय नभएर पहिचानको भएको भन्दै त्यसको रक्षा गर्नु यस प्रदेशका नागरिकको दायित्व भएको बताए ।