सुनसरी । चाडपर्वको समय नजिकिँदै गएपछि सुनसरीका विभिन्न सीमा नाकाहरूबाट भारतीय सामानको तस्करी हुने क्रम बढेको छ ।

दसैं र तिहारको समयमा अरू समयभन्दा माग बढी हुने भएकोले केही समययता सीमामा तस्करी बढेको हो । जिल्लाका लौकही, उल्टी, घुस्की, वसन्तपुर, कप्तानगञ्जसहितका नाकाबाट दैनिक रूपमा भन्सार छलेर लाखौंको सामान भारतबाट भित्रिने गरेको छ ।

भारतबाट विभिन्न प्रकारका कपडा, खैनी, रजनीगन्धा, चिनीलगायत विभिन्न किराना सामानहरूका साथै पटकाजन्य पदार्थ अवैधरूपमा भित्रिने गरेको छ भने नेपालबाट खासगरी मदिरा तस्करी हुने क्रम बढेको पाइएको छ । केही दिनअघि सुनसरीको कोसी गाउँपालिका–८ स्थित भण्टाबारीबाट इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी टोलीले भारततर्फ तस्करी गरी लैजाँदै गरेको १२ कार्टुन उमङ्ग मदिरा नियन्त्रणमा लिएको थियो ।

यस्तै बिहीबार सशस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित घुस्कीबाट तीन लाख बराबरको पटका बरामद गरेको छ । भारतबाट अवैधरूपमा ल्याउँदै गरेको पटका सशस्त्र प्रहरीलाई देखेपछि सामान छाडेर तस्करहरू भागेका थिए । तस्करहरूले पटकाको बोरा फालेर भागेपछि सशस्त्र प्रहरी बल घुस्की बिओपीका प्रमुख दिनेश खड्काको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले प्रतिबन्धित पटका बरामद गरेको थियो ।

बरामद गरिएको पटका स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मीलगायतको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । चाडपर्व नजिकिँदै गर्दा सीमावर्ती क्षेत्र हुँदै भारतीय बजारबाट लुकिछिपी पटकाजन्य पदार्थको तस्करी हुने क्रम बढेको स्थानीय बताउँछन् ।

सीमामा खटिएका सुरक्षाकर्मीलाई प्रभावमा पारेर पछिल्लो समय लौकही, उल्टी, कप्तानगञ्ज, घुस्की नाकाबाट व्यापक रूपमा तस्करी हुँदै आएको नाम उल्लेख नगर्ने शर्तमा एकजना व्यापारीले जानकारी दिए । यद्यपि यसबारे सम्बन्धित निकाय मौन बस्दै आएको छ । तस्करहरूबाट आर्थिक फाइदा लिई जिल्लाको लौकही नाकाबाट तस्करी गराउँदै आएको भन्दै इलाका प्रहरी कार्यालय लौकहीमा कार्यरत एकजना प्रहरीको विषयमा केही समयअगाडि प्रदेश प्रहरी कार्यालय विराटनगरमा उजुरीसमेत परेको थियो ।

नाकाबाट सुरक्षाकर्मीलाई मोटो रकम दिएर पूजन यादव, अमित गुप्ता, पार्वती चौधरी, बच्चु पौदार, निरु राई, सीता बस्नेत, मीनालगायतले किराना सामानहरू तस्करी गराउँदै आएका छन् भने भारतीय कपडा व्यापारी विद्यानन्द साहलगायतले कपडा तस्करी गराइरहेका छन् ।

यस्तै जिल्लाको भण्टाबारी नाकाबाट समेत भारतीय सामानहरू इनरुवा, इटहरी, धरान र काठमाडौंसम्म पु¥याउने गिरोह सक्रिय रहेको स्थानीयको आरोप छ । सशस्त्र प्रहरी बल बाहिनी मुख्यालय प्रदेश नम्बर १ का प्रमुख डिआइजी कमल गिरीले सीमावर्ती क्षेत्रहरूमा हुँदै आएको तस्करी रोकथाम गर्न कडा निर्देशन दिए पनि सीमामा नयाँ बिओपी पतिहरू आएसँगै सेटिङमा तस्करी बढेको स्रोतको दाबी छ ।

डिआइजी गिरीले बेलाबेला सीमावर्ती क्षेत्रहरूको छड्के अनुगमन गर्दै तस्करी गर्ने÷गराउनेलाई विभागीय कारबाही गर्दै आएका छन् । तर, तस्करी हुने क्रम भने रोकिएको छैन । यता सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम हुमागाईंले दसैं, तिहार नजिकिँदै गएको हुँदा सीमावर्ती बजारबाट हुने तस्करी रोकथाम गर्न सशस्त्र प्रहरी लागिपरेको दाबी गरे । कुनै प्रकारको तस्करीमा सुरक्षाकर्मीको संग्लनता पाइए कारबाही गरिने उनले दाबी गरे ।