विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ । मिल्स भेट्रान्स क्लब रानीको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लब बिजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । मिल्स भेट्रान्स क्लबले दुलारी भेट्रान्स क्लब मोरङलाई ३ – १ गोलले हराउँदै बिजयी भएको हो । जितको लागि मिल्स भेट्रान्सका सन्तोष चोङवाङ दुई गोल र प्रकाश पौडेल एक गोल गरेका थिए ।
आक्रमक रुपमा प्रस्तुत भएको मिल्स भेट्रान्सले खेल सुरु भएको १९ औं मिनेटमा प्रकाश पौडेलले गोली गरी टिमलाई अग्रता दिए । प्रकाशले गोल गरेको १० मिनेटपछि मिल्सका सन्तोष चोङवाङले गोल गरे ।
पहिलो हाफसम्ममा २–० गोलले मिल्स भेट्रान्स अगाडी रहयो । दोस्रो हाफदेखि सुधारेको प्रर्दशन गरेपनि दुलारी भेट्रान्स क्लबका खेलाडीहरुले गोल गर्ने थुप्रै अवसर खेर फाले । खेलको ३७ औं मिनेटमा सन्तोष चोङवाले पुनः गोल गरी टिमको जित सुनिश्चित गरे । दुलारीका चुडामणी गौतमलले ५७ औं मिनेटमा सान्तवना गोल फर्काए ।
प्रतियोगिताको आइतबारको खेल हाम्रो धरान भेट्रान्स र दमक लखनपुर भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ । खेलको म्यान अफ द म्याच आयोजक मिल्स भेट्रान्सका खेलाडी सन्तोष चोङवाङ घोषित भए ।
प्रतियोगितामा प्रदेश १ भरीका ११ वटा टिमको सहभागि रहेको मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्काले जानकारी दिए । प्रतियोगिताको बिजेताले ५१ हजार १ सय ११ र उपबिजेताले ३१ हजार १ सय ११ रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् ।
उद्घाटन खेलको प्रमुख अतिथि जनता समाजवादी पार्टी मोरङ अध्यक्ष राजकुमार यादव, अतिथिहरु विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष सन्तोष बानिया,मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोर बहादुर शाही, वडाअध्यक्षहरु उद्धव भुजेल, सुर्यलाल यादव, सुर्यनारयण महतोलगायतको उपस्थिती रहेको थियो ।