इनरुवा । मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाले मनोनयन दर्ताको समय तालिका निर्धारण गरेको छ ।

सर्वदलीय बैठकको निर्णय बमोजिम मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले मनोनयन दर्ता गर्न आउने दलको समय तालिका तय गरेको हो ।

शैक्षिक तालिम केन्द्र इनरुवामा बसेको बैठकले आचार संहिताको परिधिमा रहि मनोनयन दर्ता गर्ने र गराउने कार्य अघि बढाउने निर्णय समेत गरेको छ ।

मूख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार सर्वदलीय निर्णय अनुसार नेपाली कांग्रेस सम्मिलित गठबन्धनले ४ बजे मनोनयन दर्ता गराउने छ । अधिकारीका अनुसार एमालेले २ बजेको समय मागेको छ । त्यसैगरी राप्रपाले ३ बजे मनोनयन दर्ता गराउन आउने भनेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १०ः३० बजे, जनमत पार्टीले ११ बजे, नेपाल लोकतात्रिक पार्टीले ११ः२० बजे, नागरिक उन्मुक्ति पार्टीले १०ः३० अगावै मनोनयन दर्ता गराउन आउने बैठकमा उपस्थित सम्वन्धित दलका प्रतिनिधिले जनाएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी सर्वदलीय बैठकमा मंगोल नेशनल पार्टीले ११ बजे, नेपालका लागि नेपाली पार्टीले ११ः३०, जनता प्रगतिशीलले १२ बजे र नेपाली कांग्रेस विपीले २ः३० बजेको समय मनोनयनका लागि माग गरेको कार्यालयले जनाएको छ ।

बैठकमा मूख्य निर्वाचन अधिकृतको कार्यालयले बैठकमा सहभागी दलका उम्मेद्वार, पार्टी नेता तथा प्रतिनिधिहरुलाई आचार संहिता लगायतको बारेमा समेत अवगत गराएको छ ।

दिइएको जानकारी अनुसार मनोनयन दर्ताको क्रममा बढीमा २५ जना भन्दा बढी सहभागी गराउन पाइने छैन् । यद्यपि, सो संख्याको विषयमा भने छलफल गर्न सकिने बताइएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनकालागि सुनसरीका ४ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भैसकेको छ । क्षेत्र नम्बर १ को धरान, २ र ४ को मूख्य निर्वाचन अधिकृतको कार्यालय रहेको इनरुवाको शैक्षिक तालिम केन्द्र र निर्वाचन क्षेत्र नम्बर ३ को कार्यालय दुहवीमा स्थापना गरिएको छ ।

सुनसरीको मूख्य निर्वाचन अधिकृत अर्जुन अधिकारी रहेका छन् । अधिकारीले क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृत समेतको जिम्मेबारी सम्हालेका छन । सुनसरी १ को निर्वाचन अधिकृतमा रुद्र अर्याल रहेका छन । सुनसरी २ मा एकराज अधिकारी र सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को अधिकृतमा उमाकान्त पौडेल तोकिएका छन ।