धरान । यलम्बर खुल्ला रनिङ बास्केटबल प्रतियोगिताको उपाधि आयोजक यलम्बर बास्केटल टिम ‘ए’ ले जितेको छ ।

यलम्बर क्लबको आयोजनामा सम्पन्न फाइनलमा आयोजकले तरहरा बास्केटबल टिमलाई ६४–४४ अङ्कले पराजित गरेको हो । विजेता बनेको यलम्बरले नगद २० हजार र ट्रफी पाएको छ । उपविजेतामा सीमित तरहराले नगद १० हजार र ट्रफी पाएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी यलम्बरका मनिष तामाङ घोषित भए । उनले नगद ४ हजार रुपैयाँसहित ट्रफी पाए । फाइनल खेलको म्यान अफ दी म्याच यलम्बर क्लबका विवेक श्रेष्ठ घोािष्त हुँदै नगद २ हजार रुपैयाँ पाए ।

यस्तै उदीयमान खेलाडी आयोजककै योगेश राई घोषित भए । विजेता खेलाडीलाई धरान–८ का वडाध्यक्ष धनबहादुर राई, मजदुर नेता भीम ज्वाला राईलगायतले पुरस्कार वितरण गरे । प्रतियोगिता कात्तिक २० गतेबाट सुरु भएको थियो ।

यता प्रदेश १ स्तरीय थ्री बाई थ्री महिला बास्केटबल प्रतियोगिताको उपाधि धरानको मेघा कलेजको महिला टिमले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा रेड डेभिल्स बी टिमलाई ११–२ अङ्कले पराजित गर्दै उपाधि जितेको हो । विजेता मेघाले नगद २ हजार ५ सय र ट्रफी पाएको छ । उपविजेताले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी पाएको छ ।