विराटनगर । विराटनगर-१३ मलाया रोडस्थित एक होटल र त्यसको पछाडि रहेको टिनको छानो भएको घरमा किशोरीहरूलाई प्रलोभनमा पारी बन्धक बनाएर अवैध यौनधन्दा चलाउने मुख्य अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मोरङ अदालतका न्यायाधीश गोकुलबहादुर निरौलाको इजलासले मोरङको बूढीगङ्गा गाउँपालिका-२ का ४२ वर्षीय मोहम्मद प्रवेज आलमलाई पुर्पक्षका लागि थुनामा राख्न मङ्गलबार आदेश दिएको छ । अदालतको आदेशसँगै आलमलाई मोरङ कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिएका छन् ।

यस घटनामा संलग्न अर्का प्रतिवादी विराटनगर-१५ झमेली चोकका रामविलास महतोलाई भने फरार प्रतिवादी बनाई सरकारी वकिलको कार्यालयले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ ।

असोज २२ गते मोरङ प्रशासन र प्रहरीलाई प्राप्त एक गोप्य सूचनाका आधारमा छापा मार्दा उक्त डरलाग्दो धन्दाको पर्दाफास भएको थियो । पहाडी जिल्लाहरूबाट विभिन्न प्रलोभन देखाएर विराटनगर ल्याइएका किशोरीहरूलाई होटल र पछाडिको घरमा बन्धक बनाएर सीमापारि भारतबाट आउने ग्राहकहरूसँग जबरजस्ती यौन शोषण गराइएको सूचना मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई म्यासेजमार्फत् प्राप्त भएको थियो ।

सूचनालगत्तै प्रजिअ कट्टेलको निर्देशनमा मोरङका प्रहरी प्रमुख (एसपी) कवित कटुवाल र सहायक प्रजिअ सरोजराज कोइरालाको नेतृत्वमा खटिएको संयुक्त टोलीले उक्त होटलमा आकस्मिक छापा मारेको थियो । छापा मार्ने क्रममा प्रहरीले दुईजना किशोरीको सकुशल उद्धार गरेको थियो भने सञ्चालक मोहम्मद प्रवेज आलमलाई पक्राउ गरेको थियो ।