धरान । स्ट्रेन्थ लिफ्टिङ खेलाडीहरूलाई सङ्गठित गर्दै सुनसरी जिल्ला स्ट्रेन्थ लिफ्टिङ सङ्घ गठन भएको छ ।
सोमबार सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपककुमार राईको रोहवर र नेपाल स्ट्रेन्थ लिफ्टििङ फेडेरेसनका महासचिव जीवन गिरीको प्रमुख आतिथ्यमा गठन भएको सङ्घको अध्यक्षमा कविरभगत प्रधानाङ्ग चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा कपिल श्रेष्ठ, सचिव विजयसिंह थेवे, उप–सचिव किरण राई र कोषाध्यक्षमा रुसा तामाङ चयन भएका छन् । सङ्घको सदस्यहरूमा अवतार श्रेष्ठ, मोना राई, सुरज श्रेष्ठ, सन्दीप गिरी, आशुतोष अग्रवाल, कौशलभगत प्रधानाङ्ग, प्रणिता लिम्बू र निक्रोज श्रेष्ठ तथा वरिष्ठ सल्लाहकार सन्दीप श्रेष्ठ र सल्लाहकारमा रनबहादुर थेवे चयन भएका छन् ।
विश्वका ४० देशले राष्ट्रिय खेलकुदमा समावेश गरेको स्ट्रेन्थ लिफ्टिङले नेपालमा भने भर्खरै मान्यता पाएपछि सुनसरीमा पनि सङ्घ गठन गरिएको सचिव थेवेले बताए । उनका अनुसार हालसम्म देशका ३० जिल्लामा सङ्घ गठन भइसकेको छ ।
किर्गिस्तानमा केही महिनाअघि सम्पन्न नवौं विश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाली खेलाडीहरूले एक स्वर्ण र तीन रजत पदक जितेका थिए ।