धरान । राष्ट्रियस्तरको मुवाथाई प्रतियोगिता धरानमा सम्पन्न भएको छ ।

थाइल्यान्डको राष्ट्रिय खेल मुवाथाईलाई नेपालमा राष्ट्रिय खेलकुद परिषद्ले भर्खरै मात्र मान्यता दिएको छ भने ओलम्पिकमा समावेश भएको छैन । शनिबार सुनसरी मुवाथाई सङ्घले धरानमा राष्ट्रियस्तरको मुवाथाई प्रतियोगिता सम्पन्न गरेको हो ।

मुवाथाई खेलको प्रवद्र्धन गर्ने उद्देश्यले धरानको भानुचोकमा सम्पन्न प्रतियोगितामा सुनसरीका मुवाथाई सङ्घका सिद्धार्थ लिम्बू, ललितपुर मुवाथाईका सुमित देसाई, सिन्धुल्पाल्चोक मुवाथाईका फेजिमान गुरुङ्ग र सुवानी श्रेष्ठ र काभ्रे मुवाथाईका सन्तोष विश्वकर्मा च्याम्पियन बनेका हुन् ।

सुनसरीका सिद्धार्थले ६३ केजी तौलमा रामेछापका मीनबहादुर मगरलाई पराजित गरे । ललितपुरका सुमितले ५७ केजी तौलमा दार्चुलाका तेजसिंह ऐरीलाई पराजित गरे भने सिन्धुल्पाल्चोककी फेजिमाया गुरुङले ४८ केजी तौलमा सर्लाहीकी अञ्जना ढुङ्गेललाई पराजित गरिन् ।

यस्तै सिन्धुपाल्चोककै सुवानी श्रेष्ठले विपना जिसीलाई र काभे्रका सन्तोष विकले ७३ केजी तौल समूहमा ललितपुरका सुजन महर्जनलाई पराजित गरेका थिए । तीन मिनेटको तीन राउण्ड खेलाइएको खेलमा सन्तोषले सुजनलाई पहिलो राउण्डमै नकआउट गरेका थिए ।

प्रतियोगिताका विजेता खेलाडीहरूले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका थिए । प्रतियोगितामा उपविजेता खेलाडीले नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका थिए । प्रतियोगितामा विजेता तथा उपविजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरका निवर्तमान प्रमुख तिलक राई, मुवाथाई सुुनसरी सङ्घका अध्यक्ष एल्कोन मगर र धरान उपमहानगरका उपप्रमुख अइन्द्र बेघाले पुरस्कार प्रदान गरे ।

प्रतियोगितमा मुवाथाई केन्द्रीय अध्यक्ष गणेश कक्षपति, सियोन स्कुलका अध्यक्ष खड्कबहादुर मगरलगायतको उपस्थिति रहेको थियो । राष्ट्रियस्तरको मुवाथाई प्रतियोगिता धरानमा पहिलो पटक भएको बताइएको छ ।