विजयपुर । धरान फुटबल क्लबलाई आहा रारा गोल्डकपमा सहभागी हुन नदिन माग गरिएको छ ।

मनाङ मस्र्याङ्दी क्लबले धरान फुटबल क्लबलाई आहा रारा गोल्डकपमा सहभागी नगराउन अखिल नेपाल फुटबल सङ्घमा माग गरेको हो ।

मनाङ–मस्र्याङ्दी क्लब धरान फुटबल क्लबले सञ्चालन गरेको बूढासुब्बा टुबोर्ग गोल्डकप २२ औँ संस्करणको विजेता भए पनि उपाधि रकम हालसम्म नदिएको भन्दै प्रतियोगितामा सहभागी नगराउन माग गरेको हो । बूढासुब्बा टुबोर्ग प्रतियोगिता २०७६ चैतमा सम्पन्न भएको हो । प्रतियोगिता विजेताले पाउने उपाधि रकम ७ लाख रुपैयाँ रकम नदिएको जनाएको हो ।

धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले कोभिडका कारणले राष्ट्रिय खेलकुद परिषद्बाट विनियोजित बजेट प्राप्त नभएकाले रकम दिन नसकेको बताए । उनले भने, ‘२३ औँ गोल्डकप प्रतियोगिता सुरु हुने पहिलो हप्ता दिने सहमति भएको हो ।’ उनका अनुसार वार्षिक बजेट १० लाख रुपैयाँ, प्रदेश सरकारबाट ८ लाख रुपैयाँ नआएपछि समस्या भएको हो । उनले भने, ‘एन्फामा नै ३२ औँ संस्करण सुरु हुन एक हप्ताअघि पेमेण्ट गर्ने कुरा भइसकेको हो ।’ उनले मस्र्याङ्दी क्लबले प्रतियोगितामा नै सहभागी हुन नदिन माग गर्नु गलत भएको बताए । ‘मनाङ–मस्र्याङ्दीले पैसा पाउने कुरा हो । रोक्ने होइन ।’

मनाङ– मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घलेले हस्ताक्षर गरेको अनुरोध पत्रमा सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ गतेदेखि २३ गतेसम्म हुन लागेको २२ औँ आहा रारा गोल्डकप २०२३ मा धरान फुटबल क्लब सहभागी हुने उल्लेख छ ।

प्रतियोगिता अखिल नेपाल फुटबल सङ्घद्वारा मान्यताप्राप्त भएकाले पुरस्कार रकम वितरण नभई सहभागी हुन नपाउने व्यवस्था मिलाई सहयोग गरिदिन अनुरोध गरेको छ ।