इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड लौकही सेवा केन्द्रले सदस्यको मृत्युपश्चात् उसको परिवारको ४ लाख ६० हजार रकम मिनाहा गरेको छ ।

कोसी गाउँपालिकाको लौकही सेवा केन्द्र मातहत रहेको लक्ष्मी सहारा महिला समूहकी सदस्य मीनादेवी साह र श्रीमान् कदमलाल साहुको निधनपश्चात् सहाराले उनीहरूले लिएको ४ लाख ६० हजार रुपैयाँ ऋण रकम पूर्ण मिनाहा गरेको हो । सहाराले वडाध्यक्ष सोभितनारायण यादव, समूह अध्यक्ष रेणुका देवी मण्डल, लौकही सेवा केन्द्रका प्रमुख जीवनकुमार सुवेदी, इनरुवा सेवा केन्द्र प्रमुख तोयानाथ सुवेदीलगायतको उपस्थितिमा सो ऋण मिनाहा गरेको हो ।

ऋण मिनाहाको क्रममा सहाराले औपचारिक कार्यक्रमका बीच मृतकका छोरा राजु साहलाई चेक हस्तान्तरण गरेको थियो । सो क्रममा संस्थागत तर्फबाट उपलब्ध गराइँदै आएको विपतमा सहयोगको सिलसिलालाई जारी राखेको बताइएको छ । सोही अनुरूप सहाराले सदस्यका हकमा विभिन्न खाले सहयोग उपलब्ध गराउँदै आएको इनरुवा सेवा केन्द्र प्रमुख तोयानाथ सुवेदीले बताए । संस्थाले ऋण मिनाहा गरिदिए सँगै मृतकको परिवारले राहतको अनुभूति गरेको छ ।