सुनसरी । पाल टाँगेर सीमामा ड्युटी गर्दै आएका सशस्त्र प्रहरीका लागि कोसी गाउँपालिकाले स्थायी सशस्त्र प्रहरी पोष्ट बनाइदिएको छ ।

कोसी गाउँपालिका–८ को सशस्त्र प्रहरी बल नेपाल बिओपी भण्टाबारीलाई दुईवटा स्थायी प्रहरी पोष्ट निर्माण गरी कोसी गाउँपालिकाले सोमबार हस्तान्तरण गरेको हो । भ्याटबाहेक ३ लाख ६७ हजार लागतमा उपभोक्ता समितिमार्फत् कोसी गाउँपालिका–८ भण्टाबारीस्थित तीनकुने र हनुमान मन्दिर क्षेत्रमा गरी  दुईवटा सशस्त्र प्रहरी पोष्ट निर्माण कार्य सम्पन्न गरी बिओपी भण्टाबारीलाई गाउँपालिकाले हस्तान्तरण गरेको इन्स्पेक्टर मनोज खनालले जानकारी दिए ।

कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बिओपीको उद्घाटन गरे । सीमामा सशस्त्र प्रहरीको उपस्थिति स्पष्टसँग देखिने गरी स्थायी ड्युटी पोष्ट निर्माण गरिएको इन्स्पेक्टर खनालको भनाइ छ ।

अध्यक्ष अन्सारीले सीमामा विभिन्न प्रकारका आपराधिक कार्य एवम् चोरीपैठारी नियन्त्रण गर्न सहज होस् भन्ने उद्देश्यले स्थायी ड्युटी पोष्ट निर्माण गरिदिएको बताए । संवेदनशील क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई समाजमा शान्तिसुरक्षा कायम राख्न आवश्यकताअनुसार सहयोग गर्दै आएको र आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने उनको भनाइ छ ।