पथरी । अभियान नेपालको आयोजनामा मोरङको कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा महिला उद्यमी समूहलाई १३ वटा प्रजनन् बोका वितरण गरिएको छ ।

अभियान नेपालको कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत उपहार समूहका सदस्यहरूलाई प्रजनन् बोका वितरण गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी, गाउँपालिका प्रवक्ता तथा वडा नं.२ का वडाध्यक्ष सुशील बुढाथोकी, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ र वडा नं. ३ का वडाध्यक्ष गोपाल कार्कीले महिला उद्यमी समूहलाई बोका हस्तान्तरण गरेका थिए ।

वडा नं. १ बाट फूलबारी महिला उद्यमी समूह र लक्ष्मी महिला उद्यमी समूह, वडा नं. २ बाट प्रगति महिला उद्यमी समूह र पाथीभरा महिला उद्यमी समूह, वडा नं. ३ बाट घुरघुरा महिला उद्यमी समूह र कालीमन्दिर महिला उद्यमी समूह, वडा नं. ४ बाट हरियाली महिला उद्यमी समूह र गणेश महिला उद्यमी समूह, वडा नं. ५ बाट तुलसी महिला समूह र डुम्रीघाट महिला उद्यमी समूह, वडा नं. ६ सुन्तली महिला उद्यमी समूह र पौरखी महिला उद्यमी समूह र वडा नं. ७ बाट शुक्रबारे महिला उद्यमी समूहले १३ वटा प्रजनन् बिउ बोका पाएका छन् । 

गाउँपालिकाले कोटेशन आह्वान गरी खरिद प्रक्रियाबाट बोका खरिद गरिएको थियो । सिरोही, अजमेरी, कोटा, तोतापुरी, गुज्री, जमुनापारी–बिटल खपारी क्रसलगायत जातका प्रजनन् बिउ बोका खरिद गरी कानेपोखरी गाउँपालिकाका ७ वटै वडाका महिला उद्यमी समूहलाई वितरण गरिएको हो ।

धनपालथान गाउँपालिका–३ मा रहेको युनिक लाइभस्टक इन्टरप्राइजेजबाट ६ लाख १९ हजार ६ सय ९० रुपैयाँमा जमुनापारी ८ सय रुपैयाँ प्रतिकेजी र अन्य १३ सय रुपैयाँ प्रतिकेजीको दरले १३ वटा बिउ बोका खरिद गरिएको थियो । साझेदारीमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत बाँकी रहेका १४ वटा उपहार समूहलाई केही समयपछि बिउ बोका वितरण गरिने अभियान नेपालका प्राविधिक संयोजक अरुण योगीले बताए । 

अभियान नेपाल अन्तर्गत कानेपोखरी गाउँपालिका क्षेत्रभित्र ९ वटा मूल समूह र २७ वटा उपहार समूह गठन गरिएको छ । जस अन्तर्गत एउटा समूहमा २७ जना महिला सदस्य रहेका छन् । एउटा मूल समूहले ३ वटा उपहार समूह गठन गरेको छ ।

अभियान नेपालको आयोजनामा कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक प्राविधिक सहयोगमा महिला उद्यमी मूल समूहलाई ९ वटा बिउ बोका वितरण गरिसकेको छ । प्रजनन् बिउ बोकाले उपहार समूहका ३ सय ५१ जना सदस्यले यसको लाभ लिनेछन् । यसअघि वितरण गरिएको मूल समूहका २ सय ४३ जना सदस्यहरूले बोकाबाट सेवा लिने देखिन्छ ।

बिहीबार गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत विशाल बस्नेत र अभियान नेपाल कार्यक्रम संयोजक हेम श्रेष्ठ, गाउँपालिकाका पशु शाखाका प्रतिनिधिलगायतले महिला उद्यमशीलता उपहार समूहका प्रतिनिधिलाई प्रजनन् बिउ बोका वितरण गरेका थिए ।