धनकुटा । नेपाल तामाङ घेदुङले ६६ वर्षे इतिहासमा पहिलो पटक जिल्ला तहमा महिला नेतृत्व पाएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको शनिबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले पेमाकुमारी लामालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्ष पदका लागि ४–४ जनाले उम्मेदवारी दिने तयारी गरे पनि अधिवेशनको बन्दसत्रबाट महिला नेतृत्वलाई जिम्मेवारी दिएको हो । नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले उपाध्यक्षद्वयमा मङ्गलसिंह तामाङ र सीता तामाङलाई चयन गरेको छ ।
त्यस्तै सचिवमा गजमसिंह घिसिङ, सह–सचिवमा सन्तोष तितुङ र कोषाध्यक्षमा करिष्मा तामाङ चयन भए । यसैगरी सदस्यहरूमा चन्द्रबहादुर तामाङ, राजेन्द्र गोले तामाङ, असारसिंह तामाङ, धनबहादुर तामाङ, तेजबहादुर बम्जन तामाङ (लामा), भैरव तामाङ, कल्पना तामाङ र कृष्ण योञ्जन रहेका छन् ।
समितिको सल्लाहकारमा गङ्गाराम गोम्देनको संयोजकत्वमा ५ सदस्यीय समिति चयन भएको हो । सदस्यहरूमा सीताराम थिङ तामाङ, फूर्वा घिसिङ तामाङ, धनबहादुर मोक्तान तामाङलगायत छन् । सङ्घीय अध्यक्ष मोहन गोलेले घेदुङको ६६ वर्षे इतिहासमा जिल्ला तहमा महिला नेतृत्वले स्थान पाएको बताए । उनले यसको सुरुवात धनकुटाबाट सुरु भएकोमा धन्यवाद दिए ।
उनले अबका दिनमा साँच्चिकै तामाङ जातिको भाषा, संस्कार, संस्कृति यूवापुस्तामा हस्तान्तरण गर्न टोल–टोलमा घेदुङको सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिए । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धनकुटाको विभिन्न पालिकाहरूमा निर्वाचित १४ जना तामाङ जनप्रतिनिधिहरूलाई सम्मानित गरिएको छ ।
सम्मानित हुनेमा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, धनकुटा नगरका प्रमुख चिन्तन तामाङ, धनकुटा–१ का वडाध्यक्ष ओङ्दा थिङ तामाङ, धनकुटा–२ का चन्द्रलाल पाख्रीन, पाख्रीबास नगरपालिका–७ का वडाध्यक्ष देवेन्द्र तामाङ, छथरजोरपाटी गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर घिसिङलगायत छन् ।