भद्रपुर । झापाको दक्षिणी क्षेत्रमा एम्बुलेन्स खरिद गर्ने उद्देश्य राखेर भद्रपुरमा प्रथम झापाचोक कृषि तथा साङ्गीतिक महोत्सव हुने भएको छ ।

यही चैत ३० देखि २०८० वैशाख १५ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो । केही वर्षयताबाट सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको  सगरमाथा फाउण्डेसनको आयोजनामा महोत्सव सञ्चालन हुने भएको आयोजकले जानकारी दिएको छ ।

फाउण्डेसनका अध्यक्ष विशाल तामाङले दिएको जानकारी अनुसार झापाका दक्षिणी क्षेत्र सगरमाथा, पाठामारी, बनियानी, केचनालगायतका क्षेत्रमा एम्बुलेन्सको आवश्यकता देखिएकोले मेलाको बचतबाट एम्बुलेन्स खरिदमा केही आर्थिक टेवा पुग्ने उद्देश्य राखिएको जानकारी दिए । प्रशासनले दिएको सर्तअनुसार मेला सञ्चालन गरिने उनले दाबी गरे । 

महोत्सवमा नेपालकै ठूलो र अग्लो रोटेपिङ, नाउ, ड्रागन, चिल्ड्रेनपार्कजस्ता रमाइला खेलहरू रहने मेलाका व्यवस्थापक सागर पौडेलले जानकारी दिए । कृषि उत्पादन तथा प्रवर्धन नै मेलाको मुख्य आकर्षण हुने उनको भनाइ छ ।  देशका ख्यातिप्राप्त कलाकारहरू एलिना चौहान, प्रमोद खरेल, बलबहादुर राजवंशी, अस्मिता अधिकारी, प्रिती आले, सुगम पोखरेल, प्रकाश सपुत, विशाल भण्डारी, ज्योति मगर, जि–बब लगायतका कलाकारको प्रस्तुति रहने कलाकार व्यवस्थापनका संयोजक राजु राउतले जानकारी दिए ।

महोत्सवमा २० वटा व्यापारिक स्टल रहनेछन् भने कृषि उत्पादन तथा प्रवर्धनको लागि सहुलियत रूपमा स्टल उपलब्ध गराउने साथै उत्कृष्ट कृषकलाई हौसला स्वरूप पुरस्कृत गर्ने आयोजक फाउण्डेसनका सचिव रविन्द्र आले मगरले जानकारी दिए । मेला विशुद्ध सामाजिक कार्यको लागि आयोजना गरिएको र महोत्सवबाट उठेको रकमले झापाको पूर्वी–दक्षिणी भेगका जनतालाई सेवा दिनको लागि एम्बुलेन्स खरिद गर्ने उनले बताए ।

बिर्तामोडमा रहेको रिकोभरिङ टिमले महोत्सवको लागि चाहिने सम्पूर्ण सामग्रीहरू उपलब्ध गराउने र खेलको समयमा कुनै प्राविधिक कारणबाट घटना घटेमा इन्स्योरेन्सको व्यवस्था गरिएको रिकोभरिङ टिमका व्यवस्थापक अमित खड्काले जानकारी दिए । मेला सम्पन्न गर्नका लागि रमाइलो खेलको व्यवस्थापनमा डिल्लु दाहाल र यातायात व्यवस्थापनमा प्रदीप जोशी रहेको टिमका व्यवस्थापक खड्काले जानकारी दिए । बचेको रकममध्ये केही लागूऔषध दुव्र्यसन, विपद् व्यवस्थापन, दीन–दुःखीलाई सहयोगलगायत सामाजिक कार्यमा समेत सहयोग गरिने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आयोजना गरिएको महोत्सवमा नियम उल्लङ्घन नगरी शान्त वातावरणमा सम्पन्न गरिने सगरमाथा फाउण्डेसनका सल्लाहकार खड्क लिम्बूले जानकारी दिए । विगत ४–५ वर्षदेखि निमुखा गरिब, आर्थिक अभावमा उपचार नपाएका जनतालाई सगरमाथा फाउण्डेसनले सेवा दिँदै आइरहेको उनले जनाए ।