भद्रपुर । गुरुङ जातिको पहिचान हराउन नदिनका लागि बिर्तामोडमा ३ करोडको लागतमा गुरुङ जातिको सङ्ग्रहालय बन्ने भएको छ ।
बिर्तामोड ३ स्थित बुद्धनगरमा गुरुङ जातिको मौलिक भेषभूषा , प्राचीन सरसामान सङ्ग्रहित गर्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिने भएको हो । तमु ह्युल छोंज धीं गुरुङ समाजद्वारा निर्माण गरिने सङ्ग्रहालयको बुधबार बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईले शिलान्यास गरिन् ।
तीन तलाको बन्ने भवनमा भुइँतलामा सभाहल , पहिलो तलामा कार्यालय र बैठक कक्ष तथा माथिल्लो तलामा सङ्ग्रहालय रहने निर्माण समितिका अध्यक्ष कुमार गुरुङले बताए । उनको अध्यक्षतामा ९ सदस्यीय सङ्ग्रहालय निर्माण समिति बनाइएको छ । तमु ह्युल छोंज धीं नगर समितिको आफ्नै दुई कठ्ठा जग्गामा सो सङ्ग्रहालय बन्ने भएको हो । सङ्ग्रहालय निर्माणका लागि बिर्तामोड नगरपालिकाले १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । अन्य बजेट दाता महानुभावहरुबाट सङ्कलन गरिने अध्यक्ष गुरुङले बताए ।
निर्माण समितिका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , नेपाली काँङ्ग्रेसका नगर सभापति भोजराज सिटौला , एमालेका नगर अध्यक्ष सुवास भट्टराई , तमु ह्युल छोंज धींका केन्द्रीय सल्लाहकार जलकुमार गुरुङलगायतले बोलेका थिए ।
तमु ह्युल छोंज धींका केन्द्रीय सदस्य आनन्द गुरुङले स्वागत गरेको कार्यक्रमको संचालन तमु ह्युल छोंज धींका बिर्तामोड नगर सचिव तथा निर्माण समितिका सचिव लीला गुरुङले गरेका थिए ।