बिर्तामोड । अर्जुनधारा नगरपालिकाले आयोजना गरेको '१ सय दिने लोकसेवा तयारी कक्षा’ समापन भएको छ ।

सिएससिआई एजुकेसन फाउन्डेसन दमकको सहरीकरणमा भएको लोक सेवा तयारी कक्षामा नगरका ५५ जना युवायुवतीको सहभागिता रहेको थियो ।

समापन कार्यक्रमका अध्यक्ष अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीले विद्यार्थीको लगनशीलता र सहभागिताबाट प्रभावित भएको बताइन । उनले सगरमाथाको आधार शिविरसम्म नगरपालिकाले पुर्‍याउन सकेको भन्दै पराजुलीले अब आफ्नै मिहिनेतबाट माथि चढ्नुपर्ने बताइन । अर्जुनधारा नगरपालिकाका कर्मचारी कुनै कार्यालयमा कार्यरत रहँदा नगरले पनि त्यसको फाइदा लिने धारणा उनले राखिन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले सहभागीहरूको उत्साहजनक उपस्थितिले कार्यक्रम सफल भएको बताइन । उनले तालिमको लागि तालिम गरेको नभएर व्यवहारिक जीवनमा उपयोग गराउन तालिम महत्त्वपूर्ण भएको बताइन ।

सिएससिआइका कार्यक्रम संयोजक राजु गौतमले अधिकांश विद्यार्थीको रोजाईका प्रशिक्षक ल्याएर तालिम प्रदान गरेको जानकारी दिए । उनले आगामी एक वर्षसम्म विद्यार्थी सँग समन्वय गर्ने धारणा राखे । सहभागी विद्यार्थीले उत्कृष्ट भएर देखाउनुपर्ने उनले बताए ।

नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख राजविक्रम खड्काले भविष्य निर्माणको सुरुवात गराउन सकेको बताए । उनले लोकसेवा आयोग र यसको भूमिका सहभागीलाई बुझाउन तालिम प्रभावकारी भएको बताए ।

सहभागी सुजाता ढुङगानाले तालिम समापन नभएर निजामती सेवामा प्रवेश गर्ने अवसरको सुरुवात भएको बताइन । उनले तालिम उपलब्धिमूलक भएको भन्दै धन्यवाद दिइन । यश प्रकारको तालिमका लागि अन्यत्र जानुपर्ने बाध्यता नगरपालिकाको सहयोगमा सम्पन्न भएकोमा उनले खुसी व्यक्त गरिन ।