विराटनगर । कोशी प्रदेश नामाकरणको विरोध गर्दै उँभौली पर्व मनाइएको छ । प्रदेश नामकरणको विरोधमा विराटनगरमा यस वर्षको उभौली पर्व सडकमै मनाइएको हो ।
किराँत समुदायले मनाउने उँभौली पर्व शुक्रवार देशभरका किराँत समुदायले मनाएका छन् । प्रकृति तथा भूमि पुजेर मनाइने यस पर्व देशभरका किराँत समुदायले प्रकृति र भूमि पूजा गरेर मनाएका हुन् । यद्यपी यस वर्षभने पर्व मनाए सँगसँगै किराँत समुदायले कोशी प्रदेश नामाकरण गरेकोमा बिरोध पनि जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडीको चोक रोडशेषमा भेला भएका किराँती समुदायले सांस्कृतिक पहिचान झल्कने नृत्य तथा बाजागाजाहरुसहित प्रदेश नामाकरणको बिरोध गरेको हुन् । सबैले आफ्नो सांस्कृतिक पोशाकसहित ‘कोशी प्रदेश खारेज गराद’ लेखिएको प्लेकार्डपनि प्रदर्शन गरेका थिए ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै किराँत राई याक्खा विराटनगरका अध्यक्ष विष्णु राईले बताइन् । राज्यले आफूहरुको चाड र सांस्कृतिक पहिचानलाई बहिष्करणमा पारेकाले राज्यलाई खबरदारी गर्दै यस वर्षको उँभौली पर्व मनाइएको उनेल बताइन् । उनले संघीयताको मर्म विपरीत कोशी प्रदेश नामाकरण गरिएको भन्दै त्यसमा आफूहरु विगत दुई महिनादेखि आन्दोलित भएका कारण खुशीसाथ उँभौली पर्व मान्न नसकेको बताइन् ।
‘राज्यले हाम्रो सांस्कृतिक पहिचानलाई, हाम्रो चाडहरुलाई बहिष्करण गर्यो । यसको पहिचानलाई स्वीकारेन । १ नम्बर प्रदेशमा संघीयताको मूल मर्म अनुसार प्राचिन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानको आधारमा नामाकरण गरियोस् भनेर हामीले लामो समयदेखि आन्दोलन गरिराखेका थियौँ। पञ्चायतकालिन महेन्द्र राजाले जसरी नदी नालाको नामले नाम राखेको थियो। त्यही नामलाई कपि पेस्ट गर्ने काम भयो,’ उनले भनिन्
कोशी प्रदेशको नाम परिवर्तन गरी प्राचीन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानको आधारमा पुनः नामाकरण गर्न उनले माग गरे ।
‘१ नम्बर प्रदेशमा पहिचानको आधारमा नाम हुन्छ भन्ने कल्पना गरेका थियौँ तर त्यहाँ रातारात केन्द्रको ठूला दलहरुका शिर्ष नेताले सामान्य प्रक्रिया पनि पूरा नगरी रातारात डकैती शैलीमा कोशी प्रदेश ल्याइयो,’ उनले भनिन्, ‘पहिचानको बिरुद्धमा भएको कारणले गर्दा हामी सडकमा छौँ । हामी पीडामा छौँ । दुई महिनादेखि सडकमा छौँ । हाम्रो चाडपर्व खुशीको साथ मनाउनुभन्दा पनि खबरदारी, आक्रोश, पीडा व्यक्त गर्नेगरी देशभरीको विभिन्न चोकमा यसरी उँभौली मनाएका छौँ ।’