धरान । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्नताको आरोपमा पूर्वगृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँड पक्राउ परेका छन् ।
बुधबार बिहान प्रहरीले खाँडलाई उनको निवासबाटै पक्राउ गरेको हो । पक्राउ गरी उनलाई काठमाडौं प्रहरी परिसर लगिएको थियो । बुधबार दिउँसो जिल्ला अदालत काठमाडौंले खाँडलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । तत्कालीन गृहमन्त्री खाँडले नक्कली शरणार्थी प्रकरणका गिरोहसँग मिलेर शरणार्थीसम्बन्धी प्रतिवेदन गायब पारेको र उनकै संलग्नतामा प्रतिवेदनमा नक्कली शरणार्थीको नाम थपिएको आरोप छ ।
यो प्रकरणमा पक्राउ परेका गिरोहका सदस्य सानु भण्डारीले गृहसचिव टेकनारायण पाण्डेमार्फत् खाँडलाई १ करोड २५ लाख रुपैयाँ बुझाएको बयान दिएका छन् । खाँडले गृहसचिव पाण्डे र आफ्ना स्वकीय सचिव नरेन्द्र केसीमार्फत् रकम बुझेको प्रमाण भेटिएको बताएको छ । खाँडका स्वकीय सचिव केसीलाई पनि प्रहरीले बुधबारै पक्राउ गरिसकेको छ ।
नक्कली शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा प्रहरीले मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई पनि पक्राउ गरेको थियो ।
त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, एमाले सचिव टोपबहादुर रायमाझीको छोरा सन्दीप रायमाझी, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।
आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी भने प्रहरीले पक्राउ पुर्जी काटेको सार्वजनिक भएपछि फरार छन् । त्यस्तै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा पनि फरार रहेको प्रहरीले जनाएको छ । यो प्रकरणमा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।