धनकुटा । पूर्वी पहाडको प्रतिष्ठित सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण बुधबारदेखि सुरु भएको छ ।

धनकुटास्थित् तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पेमा युवा क्लब विराटनगर विजयी भएको छ ।

विराटनगरले आयोजक धनकुटालाई टाइब्रेकरमा ४–२ को गोलअन्तरले पराजित गरेको हो । खेलको ३१ औँ मिनेटमा ९ नम्बरका खेलाडी आकास राईले गोल गर्दै आयोजक धनकुटालाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट पनि नबित्दै विपक्षी पेमा युवा क्लब विराटनगरका जर्सी नं. १३ का नाइजेरियन खेलाडी ओस्कारले ३६ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरी बनाएका थिए ।

त्यस्तै दोस्रो हाफको ७७ औँ मिनेटमा पेमा युवा क्लब विराटनगरका जर्सी नं.३ का प्रशान्त राईले गोल गर्दै आफ्नो टिमलाई २–१ को अन्तरमा अग्रता दिलाए । तर, खेलको ८२ औँ मिनेटमा आयोजकको तर्फबाट दीपेन शाक्यले गोल गर्दै खेल बराबरीमा पु¥याए । निर्धारित समयमा खेल बराबरी भएपछि पेनाल्टी सुट आउटबाट निर्णय गरिएको थियो ।

टाइब्रेकरमा धनकुटाका दुई खेलाडीले गरेको प्रहार पोष्ट बाहिर गएपछि गोल हुन सकेन भने विराटनगरका एक खेलाडीको प्रहार गोल हुन सकेन । उद्घाटन खेलको म्यान अफ दी म्याच पेमा युवा क्लब विराटनगरका जर्सी नम्बर ६ का कमल खवास घोषित भए । उनले नगद ४ हजार पुरस्कार पाए । 

प्रतियोगितामा आयोजक टिम र पेमा युवा क्लब विराटनगरसहित प्लानिङ ब्वाइज क्लब काठमाडौँ, कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडी (भारत), राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी, झापा फुटबल क्लब झापा, एपिएफ काठमाडौँ र वीरगञ्ज युनाइटेड वीरगञ्जको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने गोल्डकप आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।

वि.सं.२०३० सालमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको अभियोगमा पक्राउ परेका सहिद भीमनारायण श्रेष्ठलाई २०३५ सालमा मृत्युदण्ड दिइएको थियो । सरकारले उनलाई वि.सं.२०७३ सालमा सहिद घोषणा गरेको थियो ।