धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा झापा फुटबल क्लब झापा विजयी भएको छ ।
झापाले राष्ट्रिय जागृति क्लब सुनसरीलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झापाको तर्फबाट ९ नम्बरको जर्सी लगाएर मैदान उत्रिएका प्रदीप बुढाथोकीले खाता खोलेका थिए । खेलको ६१ आँै मिनेटमा जागृतिको तर्फबाट जर्सी नं. १४ का मिलन राईले गोल गरे ।
तर, दुई मिनेट बित्न नपाउँदै खेलको ६३ औँ मिनेटमा झापाको लागि प्रदीप बुढाथोकीले पुनः दोस्रो गोल गर्दै आफ्नो टिमलाई २–१ को अग्रता दिलाए । खेलको ७० औँ मिनेटमा जागृतिको लागि मिलन राईले पुनः अर्को एक गोल गर्दै खेललाई २–२ गोलको बराबरी बनाए । बाँकी समयमा कुनै पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइबे्रकरमा झापाका एक खेलाडीले गरेको प्रहार गोल हुन सकेन भने जागृतिका दुई खेलाडीको प्रहार गोल हुन सकेन । बिहीबारको खेलमा म्यान अफ द म्याच भापाका गोल रक्षक सन्दीप लिम्बू घोषित भए । उनले नगद ४ हजार हात पारे । प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) हुने खेलमा प्लानिङ ब्वाइज क्लब काठमाडौँले भारत सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबको सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने गोल्डकप आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । २०३० सालमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको अभियोगमा पक्राउ परेका सहिद भीमनारायण श्रेष्ठलाई २०३५ सालमा मृत्युदण्ड दिइएको थियो । सरकारले उनलाई २०७३ सालमा सहिद घोषणा गरेको थियो ।