धनकुटा । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले पूर्वी पृतना हेड क्वार्टर इटहरीका पृतनापति उपरथी आशबहादुर तामाङ (पिएच.डी.) लाई सोमबार हिलेमा सम्मान गरेको छ ।
घेदुङले हिलेस्थित हिमाली बौद्ध पाठशालाको स्थानीय व्यवस्थापनमा थुप्तेन देक्षेन छ्योलिङ गुम्बामा लामा गुरुहरूले मलमपाठ गरेर उपरथी भएपछि पहिलो पटक हिले आइपुगेका पृतनापति तामाङलाई विशेष सम्मान गरेको हो । पृतनापति तामाङले बौद्ध गुम्बाको परिक्रमा गरेका थिए ।
साथै उनले बौद्ध लामागुरुहरूले अष्टमङ्गलपाठ गरेपश्चात् शान्तिदीप प्रज्वलन गर्दै शिरको टोपी निकालेर साङ्गे कोनज्योसोमको दर्शन गरेका थिए । तत्पश्चात् तामाङलाई गुम्बाका प्रमुख लामा गुरु फूर्वा छिरिङ लामा र जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले खादा लगाएर स्वागत सम्मान गरेका थिए ।
त्यसैगरी धनकुटा नगरपालिका वडा नं.१ का वडाध्यक्ष ओङ्दा थिङ तामाङ, घेदुङका सङ्घीय सदस्य विष्णु मोक्तान, जिल्ला अध्यक्ष पेमा लामा, उद्योग वणिज्य सङ्घ धनकुटाका पुर्वअध्यक्ष एवम् हिले बजार व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वा तामाङ, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का १ नम्वर प्रदेश अध्यक्ष सन्तवीर लामा, फोनिज धनकुटाकी उपाध्यक्ष एवम् सञ्चारकर्मी मानवी मोक्तान तामाङ, पूर्व जिल्ला घेदुङका अध्यक्ष सीताराम थिङ तामाङ, निवर्तमान घेदुङ धनकुटाका सचिव फूर्वा घिसिङलगायतले खादा लगाएर पृतनापति तामाङलाई भव्य सम्मान गरेका थिए ।