विराटनगर । अन्तर्राष्ट्रिय नर्सिङ दिवस विराटनगरस्थित न्यूरो हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

विराटनगरमा एक भव्य कार्यक्रम आयोजना  गरी नर्सहरूको सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो । हस्पिटलमा कार्यरत एक सय जना नर्सलाई हस्पिटलले सम्मान गरेको छ । सम्मानित हुने नर्सहरूलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

दश वर्ष र पाँच वर्षभन्दा बढी न्यूरो हस्पिटलमा सेवा गरेका प्रत्येक विभागमा कार्यरत उत्कृष्ट नर्सलाई सम्मान गरिएको अस्पतालले जनाएको छ । कार्यक्रममा नर्सले बनाएको सन्तुलित आहारसम्बन्धी प्रदर्शनी पनि गरियो । त्यस्तै नर्सहरूले बनाएको चित्रकला प्रदर्शनी गरियो । कार्यक्रममा सांस्कृतिक नृत्य प्रस्तुत गरी दिनभर रमाइलो गरियो । प्रदर्शनीमा उत्कृष्ट हुने नर्सहरूलाई पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रममा न्यूरो अस्पतालका अध्यक्ष वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट, कार्यकारी निर्देशक डा. अनिशा विष्ट, एकेडेमिक डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोका, हस्पिटल डाइरेक्टर इन्जिनियर रन्जितराज बस्नेतलगायतको उपस्थिति रहेको थियो ।