धरान । धरानमा तीन हप्तादेखि जारी आठौं बास्केटबल ट्यालेण्ट हण्ट तथा ट्रेनिङ क्याम्प शनिबार समापन भएको छ ।

धरान बास्केटबल सङ्घको आयोजना, सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा वैशाख ९ गतेदेखि सुरु भएको बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यमा समापन भएको हो ।

२०७९ सालको एसईई दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरूलाई लक्षित गरी आयोजित ट्यालेन्ट हन्टमा धरानभरिका विभिन्न स्कुल तथा कलेजबाट ६० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । ट्रेनिङमा सहभागी प्रशिक्षार्थीलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, प्रमुख अतिथि उपमेयर बेघा, विशेष अतिथि धरान उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक सिर्जना नेपाललगायत अतिथिहरूसहितले प्रमाण–पत्र र टि–सर्ट प्रदान गरेका छन् ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर बेघाले धरानको समग्र खेलकुदको विकास एकीकृत ढङ्गले नभएको भन्दै आगामी दिनमा समग्र खेलकुद विकासको लागि न्यायोचित र एकीकृत ढङ्गले योजना बनाएर अघि बढ्नु पर्ने बताए ।