विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–७ डङ्ग्राहाका ४० वर्षीय दिनेशकुमार माझी निर्माण कार्य गुणस्तरीय हुनुपर्ने माग राख्दै हाइटेन्सन लाइन प्रसारण भएको पोलमा चढेको १२ घण्टापछि पोलबाट ओर्लिएका छन् । वडाभित्र भएको विकास निर्माण कार्य गुणस्तरीय हुनुपर्ने माग राख्दै १ लाख ३२ हजार भोल्ट विद्युत् प्रसारण भइरहेको पोलमा शनिबार बिहान चढेका थिए ।
अध्यक्ष र उपाध्यक्षसहित गाउँपालिकाका जनप्रतिनिधिहरूले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनी १२ घण्टापछि शनिबार पाँचबजे सकुशल पोलबाट ओर्लिएका हुन् ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनले उठाएका मागका विषयमा छलफल भइरहेको बताइएको छ । दिनभरि सुरक्षाकर्मीले निरन्तर प्रयास गरे पनि उनी पोलबाट झर्न मानेका थिएनन् । पोलमा मानिस चढेको जानकारी गराएको भए पनि नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेको थिएन ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले युवकलाई पोलबाट तल झार्ने लामो प्रयास सफल भएको बताए । बूढीगङ्गा गाउँपालिका–७ डङ्ग्राहाका ४० वर्षीय दिनेशकुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका हुन् । गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार थारूले आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनीसमेत दिएका कारण उनलाई जबरजस्ती ओराल्न चुनौती थियो ।
उनले गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिहरूले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने विषयमा छलफल गर्न तयार भए पोलबाट झर्ने सर्त राखेका थिए । गाउँपालिका अध्यक्ष र वडाध्यक्ष जिल्लाबाहिर धनकुटा गएका कारण लामो समय माझी पोलमै बसेका थिए । अध्यक्ष र उपाध्यक्ष धनकुटाबाट फर्केर सिधै घटनास्थलमा पुगेर माग सम्बोधन गरेपछि उनी पोलबाट ओर्लिएका थिए ।
उनी नेपाली सेनाका पूर्व जवान रहेको खुलेको छ । शान्ति सेनाबाट फर्केपछि जागिर छोडेका उनका छिमेकीहरूले जानकारी बताएका छन् । रिटेनिङ वाल निर्माणको काम गुणस्तरीय नभएकाले रोक्नुपर्ने उनको माग थियो । बूढीगङ्गा ७ नं. वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल (पर्खाल) निर्माणको काममा उपभोक्ता समिति बनाउँदा नक्कली हस्ताक्षर गराएर आफन्तलाई समितिमा राखेको स्थानीयसमेतको आरोप छ ।