बिर्तामोड । बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रूपमा रहेको बुट्टाबारी–प्याकुरेल चौक सडक–खण्डको स्तरोन्नति गर्न शिलान्यास भएको छ ।

बुट्टाबारीमा आयोजित एक समारोहका बीच ६ दशमलव २ किलोमिटर लम्बाइ रहेको सडकको शिलान्यास भएको हो । नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईंले सडक शिलान्यास गर्दै सो सडक नगर गौरवको आयोजनाको रूपमा रहेको बताइन् ।

विश्व बैङ्कको ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपैयाँको लागतमा निर्माण हुने सो सडक दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको छ । १२ मिटर चौडाइ रहने सो सडकलाई सात मिटरमा कालोपत्रे गरिने बताइएको छ । सडकको दायाँबायाँ डे«न निर्माण गरिनेछ भने सडकको दुवैतर्फ सडक बत्ती, गार्डेन, फुटपाथ रहनेछ ।

सडक निर्माणका लागि ‘आरपी–स्याप–समता जेभी’ ले ठेक्का पाएको छ भने परामर्शदाताका रूपमा ‘डीभी मल्टी–शिल्ट–उदय–गङ्गा रिदाग–आरसी जेभी’ रहेको छ । सडकले बिर्तामोड–६, ७ र ८ नम्बर वडा जोड्दै सदरमुकाम चन्द्रगढी जान सहज हुनेछ ।

बिर्तामोड नगरपालिका–६ का वडाध्यक्ष सूर्य कन्दङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाका निवर्तमान प्रमुख ध्रुवकुमार शिवाकोटी, नेकपा (एमाले) का बिर्तामोड नगरप्रमुख सुवाश भट्टराई, राप्रपाका जिल्ला उपाध्यक्ष ध्रुव उप्रेती, नेकपा (माओवादी केन्द्र) का जेवी जवेगूलगायतले शुभकामना मन्तव्य राखेका थिए ।