पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ को भारपामा ट्याक्टरबाट झरेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको मेची राजमार्ग अन्तर्गत हिलिहाङको भारपामा ट्याक्टरबाट खसेर विद्यालय जादै गरेका दुई बालिकाको ज्यान गएको हो ।
मृत्यु हुनेमा हिलिहाङ गाँउपालिका–७ निवासी कमल सुवेदीका दुई छोरी १३ वर्षीया पुजना सुवेदी र ९ वर्षीया गंगा सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुवँरले जनाए ।
ट्याक्टरको डाईभर सिटको छेउमा रहेका दुई बालबालिका ट्याक्टरबाट झरेपछि ट्याक्टरले किचेर मृत्यु भएको थियो । त्यस्तै ट्याक्टरको डालीको बालुवामाथि बसेका अन्य दुई जना विद्यार्थी पनि घाईते भएका छन् ।
घाईतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरी निरिक्षक कुवँरको भनाइ छ । हेवाखोलाबाट बालुवा बोकेर सल्लेरी जादै गरेको ट्याक्टरमा ११ जना विद्यार्थी चढेका थिए । तिव्र गतिका कारण विद्यार्थी ट्याक्टरबाट झरेको अनुमान गरिएको छ । ट्याक्टरका चालक तथा सह चलाक भने फरार छन ।
उनिहरुको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकि छ ।