मोरङको सुन्दरहरैँचा नगरपालिका गोठगाउँस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा प्रशिक्षार्थी प्रहरी ब्यारेक भवनको शिलान्यास गरिएको छ । 

कोशी प्रदेश प्रहरी तालिम केन्द्रले आयोजना गरेको एक कार्यक्रममा आज कोशी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रशिक्षार्थी ब्यारेक भवनको शिलान्यास गरे । सो अवसरमा उनले ब्यारेक भवनको शिलान्यासले प्रशिक्षार्थीको तालिमप्रतिको मनोबल उच्च हुनुका साथै प्रशिक्षणमा प्रभावकारिता आउने विश्वास व्यक्त गरेका छन्  । 

“तालिम केन्द्र नमूना हुन जरूरी छ, नयाँ ब्यारेक भवनको शिलान्यासले प्रहरी कर्मचारीमा ऊर्जा मिल्नेछ”, प्रहरी महानिरीक्षक बास्तोलाले भने, “गुणस्तरीय भवन समयमै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई अनुरोध छ ।” 

नेपाल सरकारको रु १६ करोड ८० लाखको नियमित बजेटबाट भवन निर्माण हुन लागेको हो । ब्यारेक भवनमा तीन सय प्रशिक्षार्थी अट्ने गरी तीन तलाको भवन बन्ने उल्लेख गरिएको छ ।