शुक्लाफाँटा नगरपालिकाले धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको धानको बीउ वितरण गरेको छ ।
नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार एक सय ५० किसानलाई धानको बीउ वितरण गरिएको हो । किसानलाई सावा मन्सुली, राधा–४, सर्जु–५२, रामधान, सावित्री र सुक्खा धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले बताएका छन् ।
“समूह, सहकारी, फर्म र व्यक्तिगतरुपमा किसानको माग अनुसारको धानको बीउ वितरण गरेका छौँ”, उनले भनेका छन्, “रु ६६ प्रति किलोका हिसाबले धानको बीउ खरिद गरी किसानलाई रु ३३ मा उपलव्ध गराएका छौँ ।” एक हजार पाँच सय २० किलो धानको बीउ किसानलाई वितरण गरिएको उनले बताए ।
धानको बीउका लागि नगरपालिको रु छ लाख बढी रकम खर्च गरेको छ । मसिनो र बढी उत्पादन दिने नगरपालिकाको माटो सुहाउँदो धानको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख बुढाऐरको भनाइ छ । “वितरण गरिएको धानको बीउ दुई सय बढी बिघा क्षेत्रफलमा रोप्नका लागि पुग्छ”, उनले भने, “धानको उत्पादन बढेसँगै किसानको आयस्तरमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।” नगरपालिकामा छ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
त्यसको उत्पादन २० हजार मेट्रिकटन रहेको छ । धानको उत्पादन बढाउन किसानलाई प्रोत्साहित गर्न बीउ, कृषि औजार, यन्त्र, मलखाद, विषादी र प्रविधिमा सहयोग गर्ने कार्य भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताएका छन् । धानको उत्पादनलाई पाँच वर्षभित्र दोब्बर पार्ने नगरपालिकाको लक्ष्य रहेको उनले जनाए ।
“नगरपालिकामा कृषिलाई आधुनिकीकरण गर्न अनुदानका कार्यक्रमसँगै किसानलाई तालिम दिने कार्य भइरहेको छ”, उनले भनेका थिए, “कृषि क्षेत्रको अध्ययन गर्न र तथ्याङ्क संकलन गर्नका लागि कन्सलटेन्ट नियुक्त गरी कार्य अगाडि बढाइएको छ ।” संकलित तथ्याङ्कका आधारमा नगरपालिको कृषिका लागि दीर्घकालीन योजना बनाइ कार्यान्वयनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ ।
—रासस