धनकुटा। कुटनी–पिसनी मिलमा काम गर्ने क्रममा गम्भिर घाईते भएका धनकुटा नगरपालिका वडा नं.२ का १७ बर्षिया बिवेक राईको उपचारको लागि मलेसियामा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

मलेसियाको जोरबारु स्थित एआर स्टार कम्पनीमा कार्यरत नेपालभरीका एक सय १९ नेपालीहरुले ७१ हजार पाँच सय ३४ रुपैंया सहयोग गरेका हुन् । कम्पनीमा कार्यरत साबिक धनकुटा नगरपालिका ९ हाल वडा नं.७ का धनप्रसाद राई, उनका साथिहरु नरेश राई,बिवश राई र राम प्रसाद राईको बिशेष पहलमा सो रकम संकलन गरिएको हो ।

उक्त रकम धनप्रसाद राईकी श्रीमती सान्ताकुमारी राईले ध.न.पा. ५ बालमन्दिर स्थित बडीआमा धनकुमारी राईको घरमा रहेका पिडित राईलाई हस्तान्तरण गरेका हुन् । राईले ध.न.पा.८ का वडा अध्यक्ष रसबहादुर राईको रोहबरमा नगद हस्तान्तरण गनुभएको छ । ११ बर्ष अघि आमा निशा राईको स्वर्गारोहण भएर बुवा हर्कबहादुर राई समेत १४ बर्ष अघिबाट बैदेशिक रोजगारबाट सम्पर्क बिहिन भएका पिडित राई छथर जोरपाटी गाउँपालिका वडा नं. ५ को तेलियामा आफ्नो फुपुकोमा बस्दै आएका थिए ।

गएको  चैत्र ११ गते सोही ठाउँमा रहेको रमेश थापाले सञ्चालन गरेको मिलमा काम गर्ने क्रममा दुर्घटनामा परेका राईको अण्डाकोषमा गहिरो चोट लागेको थियो । हाल धरान स्थित बि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका राईको यहि जेठ ५ गते अण्डाकोषको अपरेशन गरिएको छ । अपरेसन पछि उनको स्वास्थ्यमा सुधार आएको परिवारिक स्रोतले जनाएका छन् । उनको उपचारमा करिव एक लाख भन्दा वढी खर्च भएको बडिआमा धनकुमारी राईले जानकारी दिएका छन् ।