धरान । इटहरी उपमहानगरपालिकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न अनुसन्धान थालेको छ । 

अनुसन्धानका लागि सम्याति इलेक्ट्रो ह्विल्स प्रा.लि.सँग सम्झौता गरेको छ । नेपाल सरकारले प्रस्तुत गरेको आगामी नीति तथा कार्यक्रममा सवारी तथा यातायात व्यवस्थान ऐन संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गर्न लागेपछि सम्झौता गरी अनुसन्धान अगाडि बढाएको हो । इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलका अनुसार पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीय सवारीमा रूपान्तरण गर्नका लागि सम्झौता भएको छ । यदि अनुसन्धान सफल भएको हकमा भने अर्को चरणमा अनुसन्धानका लागि थप सम्झौता गर्न सकिने उनले जनाए । 

नीति तथा कार्यक्रममा ऐनलाई संशोधन गर्ने नीति अख्तियार गरेपछि यस्तो रणनीति लिइएको हो । नेपालमा पहिलो पटक इटहरी उपमहानगरले अनुसन्धानको कार्य अगाडि बढाएको छ । ‘पुरानो मोटरसाइकल उपमहानगरले दिन्छ । उक्त मोटरसाइकललाई विद्युतीय मोटरसाइकल बनाउने सहमति भएको छ’–उनले भने । सङ्घीय सरकारले मर्मत गरेर पनि उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनहरू लागत प्रभावीको आधारमा विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको हिसाबले पहिलो चरणको काम गर्न थालिएको नगरप्रमुख पौडेलले जानकारी दिए । 

कम्पनीका आदित्य आचार्य, रिसव गड्तौला, अस्तित्व मादेम्बा, निकेश बज्राचार्यले पेट्रोल गाडीलाई विद्युतीयमा रूपान्तरण गर्नका लागि समय खर्चिनेछन् । कम्पनी सञ्चालक आदित्य आचार्य भन्छन्, ‘छ महिनाभित्र २ वटा पेट्रोल मोटरसाइकललाई विद्युुतीयमा रूपान्तरण गर्छौं ।’ पुरानो पेट्रोलियम गाडीको इन्जिनको सट्टामा विद्युतीय मोटर राख्दा कम्तीमा थप १० वर्ष चलाउन सकिने उनले बताए ।