नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नं २ का संघीय सांसद दुर्लभ थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण नेपालका लागि निकै उपलब्धिमूलक भएको बताएका छन् । 

नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनको तयारीबारे आफ्नै निवासमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद थापाले भने, “प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालका पक्षमा सम्झौता भएका छन्, यो नेपालका लागि उपलब्धिमूलक हो ।” 

राष्ट्रियताको सवाल तथा परराष्ट्र नीतिबारे व्यक्ति र दलको फरक धारणा नभई सबैको एउटै धारणा हुनुपर्नेमा उनले जोड दिए । सांसद थापाले बजेटमा सांसदलाई रु पाँच करोड बाँड्ने व्यवस्थाको आफू पक्षमा नरहेको उल्लेख गरेका छन् । फरक प्रसंघमा उनले संसद्को सदुपयोग ऐन, नीति, नियम बनाउने कार्य र बहसमा केन्द्रित हुनुपर्ने बएका छन् ।  

जिल्ला सम्मेलनका लागि भक्तपुरका चारवटै नगरपालिकाको सांस्कृतिक एवं ऐतिहासिक सम्पदा समेटेर तयार पारिएको लोगो सांसद थापाले सार्वजनिक गरे । भक्तपुर  कांग्रेसका सहसचिव एवम् तयारी समितिका संयोजक कृष्णमुरारी न्यौपानेका अनुसार सम्मेलन सफल बनाउन १० उपसमिति गठन गरिएका छन् । सम्मेलनमा जिल्लाका चार नगरपालिकाका ३८ वटै वडामा निर्वाचित क्षेत्रीय प्रतिनिधि, पार्टीको विभिन्न तहमा रहेका समितिका सभापति, पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि एवं पर्यवेक्षक गरी एक हजार पाँच सयभन्दा बढीको सहभागिता रहने न्यौपानेले बताएका छन् ।

—रासस