बिर्तामोड । झापाको सहकारी क्षेत्रमा कुनैपनि समस्या नभएको सहकारी सञ्चालकहरूले बताएका छन् ।

पछिल्लो समय केही समूह र व्यक्तिहरूले सहकारी क्षेत्रमा बेथिति बढेको भन्दै सहकारीलाई बदनाम गर्ने, सहकारीका कर्मचारीमाथि आक्रमण गर्नेजस्ता प्रयास भइरहे पनि झापाका सहकारीहरूमा बेथिति नभएको सहकारी सञ्चालकहरूले स्पष्ट बताएका हुन् । राज्यले बनाएका ऐन कानून पूर्ण कार्यान्वयन नहुनु, अहिलेको तरलता व्यवस्थापनको लागि सहकारीहरूलाई पूर्ण सहयोग गर्न नसक्नु, स्थानीय तथा प्रदेश सरकारसँग सहकार्यको कमी, समयानुकूल नियम कानून निर्माण हुन नसक्नुलगायत सहकारीका  चुनौतीहरू रहेकाले त्यस्ता समस्याको समाधान खोजिन आवश्यक रहेको सहकारी अभियन्ताहरूले बताएका छन् ।

झापा जिल्ला सहकारी सङ्घ, जिल्ला बचत तथा ऋण सकहारी सङ्घ, जिल्ला कृषि सहकारी सङ्घ झापाले संयुक्तरूपमा बिर्तामोडमा बुधबार सहकारीको विद्यमान अवस्था, समस्या र चुनौती विषयक सञ्चारकर्मीहरूबीच अभिमुखीकरण कार्यक्रममा उपस्थित सहकारी अभियन्ताहरूले त्यस्तो बताएका हुन् ।

झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण संयन्त्र झापाका संयोजक गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्क सञ्चालक सदस्य तथा सङ्घ झापाका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेका थिए । कार्यक्रमको औचित्यमाथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका सञ्चालक धनश्याम अधिकारीले प्रकाश पारेको कार्यक्रमको सञ्चालन झापा जिल्ला सहकारी सङ्घका सचिव भवानीप्रसाद दङ्गालले गरेका थिए । 

कार्यक्रममा चिया केन्द्रीय सहकारी सङ्घका अध्यक्ष हर्कबहादुर तामाङ, जिल्ला बचत तथा ऋण सकहारी सङ्घ झापाका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला कृषि सहकारी सङ्घ झापाका अध्यक्ष प्रेमसागर सापकोटालगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय सहकारी महासङ्घद्वारा सहकारी समस्या समाधानका लागि अघि सारेका १३ बुँदे मागपत्रसहित शान्ति सुरक्षा कायम गर्नसमेत सहकारी सञ्चालकहरूले माग गरेका छन् ।