विराटनगर । मोरङको सुन्दरहरैँचास्थित श्री माध्यमिक विद्यालयका कर्मचारी ४० वर्षीय मनिल ढकालले विद्यालयकै शौचालयभित्र आत्मदाह गरेका छन् ।
मोटरसाइकलबाट पेट्रोल झिकेर ढकालले शनिबार आत्मदाह गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ढकाल विद्यालयका लेखापाल रहेको प्रहरीले जनाएको छ । ढकाल शौचालयभित्र जलिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
शनिबार बिहान सात बजे आसपास शौचालयबाट उनी चिच्याएपछि स्थानीयले थाहा पाएका थिए । उनी आफैले आगो लगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जलेर गम्भीर घाइते भएका उनलाई कोसी अस्पतालमा उपचारका लागि लगिए पनि उपचार सम्भव नभएपछि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।