विजयपुर । राष्ट्रिय जनगणना २०७८ मा तीन धर्म हराएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । जनगणनामा लेखे पनि सरकार पक्षले नियतवश हटाएको भन्दै तीन संस्थाले आपत्ति जनाएको छ । आइतबार तीन संस्थाले धरानमा पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएका हुन् ।
याक्थुङ लिम्बूहरूले धर्मको महलमा लेखेको ‘युमा साम्यो’ धर्म हराएकोमा युमा साम्यो महासभा, ‘मष्टो धर्म’ हराएको मष्टो धर्म संस्कृति संरक्षण समितिको आरोप छ भने ‘शिङ्सावा’ धर्म हराएको शिङ्सा कल्याण केन्द्र धरान, सुनसरीले असन्तोष व्यक्त गरेको छ । उनीहरूले मौलिक जातिको मौलिक धर्मलाई नामेट बनाउन नेपाल सरकार र तथ्याङ्क विभागले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
युमा साम्यो महासभा नेपालका केन्द्रीय सचिव सन्तोष लिम्बूले पहिलो चरणमा सच्याउन ध्यानाकर्षण गराउने नभएमा कानूनी उपचारमा लाग्ने बताए । उनले भने, ‘कानून व्यवसायीहरूसँग परामर्श गर्ने काम भइरहेको र कार्यसमितिका अगुवाहरू तथ्याङ्क विभागमा ‘डेलिगेसन’ गएका छन् ।’ २०७८ साल कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म भएको नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को अपूर्ण तथ्याङ्कीय नतिजा मिति २०७० चैत्र १० गतेका दिन सार्वजनिक गरेको थियो ।
एकैचोटी जाति, भाषा र धर्मका तथ्याङ्क सार्वजनिक नहुनाले पनि राज्यद्वारा विभेदकारी र षड्यन्त्रपूर्ण कार्य गर्ने आशङ्का मात्रै नभएर एकल पक्षलाई पक्षपोषण गर्न लागेको युमा साम्यो महासभा नेपालका अध्यक्ष देवेन्द्रकुमार वनेम लिम्बूले बताए । उनले याक्थुङ लिम्बू मातृभाषा र पुर्खाको भाषामा याक्थुङ लिम्बू लेखाउन अभियान चलाएको बताए । उनले भने, ‘हजारौं, लाखौंको सङ्ख्यामा जनगणनाका उत्तरदाताहरूले लेखाएका युमा धर्मको नामोनिसान नराखी राष्ट्रिय तथ्याङ्क विभागले नामेट गरिदिएको छ ।’