भद्रपुर । झापाको मेचीनगरमा बाँदर आतङ्कले स्थानीयवासी हैरान भएका छन् । मेचीनगर नगरपालिका वडानम्बर ११ र १२ मा बाँदरले खेतबारीमा लगाएको बालीमा क्षति पु¥याउन थालेपछि स्थानीयवासी हैरान भएका हुन् ।

नजिकैको जङ्गललबाट ठूलो सङ्ख्यामा आउने बाँदरले मेचीनगरका विभिन्न वडाका गाउँ र बस्तीमा पसेर स्थानीयवासीको घरको अन्न तथा फलफूलसमेत खाइदिने गरेका कारण उनीहरू त्रसित बन्न थालेका छन् ।

खेतबारीको मात्र होइन, बाँदरका कारण घरभित्र राखेको अन्नबालीसमेत कसरी जोगाउने भन्ने चिन्तामा उनीहरू छन् । घरनजिकैको जङ्गलबाट गाउँ छिरेर बाँदरले अन्नबालीमा नोक्सानी पुर्याउन थालेपछि बाँदर आतङ्कका कारण गाउँ नै छाड्न बाध्य हुनुपर्ने अवस्थाको सिर्जना हुनलागेको पीडितहरूको भनाइ छ ।

गाउँको बीचमा भएको खेती मात्र होइन, घरभित्र भण्डारण गरिएको अन्नबालीसमेत जोगाउन नसकेर हैरान भई अब त गाउँ नै छाड्नुपर्ने अवस्था सिर्जना भएको र गाउँ छाड्नुबाहेक विकल्प नभएको स्थानीयको गुनासो छ ।

घरभित्र रहेको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमै भित्रै पसेरसमेत खान थालेपछि स्थानीय बाँदर आतङ्कले गर्दा उत्पादन गर्न नपाएपछि बाँच्ने विकल्प नभएका कारण गाउँ नै छाड्ने अवस्थामा पुगेकोे वडानम्बर ११ का बासिन्दा योगेश भट्टराईको भनाइ छ । ‘कानूनले बाँदर मार्न पाइँदैन, बाँदरले स्थानीयलाई बाँच्न नदिएपछि अब सबै गाउँले मिलेर हेरालु राख्ने अभियान चलाउने स्थानीयवासीले सोच बनाएका छौँ’ –उनले भने । बिहानदेखि बेलुकीसम्म बारीमा बसेर बाँदर रुङ्दासमेत अन्न जोगाउन नसकिएको भट्टराईको भनाइ छ । मेचीनगरका यी दुईवटा वडासहित अन्य वडाहरूलगायत नगरका अधिकांश क्षेत्रमा बाँदरले सताउने गरेको छ ।

वनजङ्गलमा खानेकुरा नपाएपछि बाँदर बस्ती पस्न सुरु गरेको र घरभित्र पसेर खानेकुरा खाने गरेको गुनासो स्थानीयको छ । केही दिनअघि फाट्टफुट्टरूपमा देखिएको बाँदरको सङ्ख्या पछिल्लो समय ह्वात्तै वृद्धि भएको छ । गाउँमा बाँदरको सङ्ख्या बढेपछि अन्नबाली बचाउनै मुस्किल परेको स्थानीय रमा धिमालको भनाइ छ । मेचीनगरकी स्थानीय हरिमाया कार्कीले साँझ बिहान ठूलो सङ्ख्यामा आउने बाँदरले घरभित्र पसेर अन्न तथा फलफूलसमेत खाइदिने गरेका कारण हैरान भएको बताइन् । बाँदरले गाउँलेमाथि पनि आक्रमण गर्ने गरेको उनको भनाइ छ । गाउँलेलाई बाँदरले दुःख दिन थालेपछि स्थानीय प्रशासन तथा प्रहरीसँग स्थानीयवासीले सुरक्षा मागेको उनले जानकारी दिइन् ।

स्थानीयको मुख्यः पेसा नै कृषि भएकोले बाँदरबाट बर्सेनि कृषिउपज जोगाउन नसकिएका  कारण समस्या भएको उनको भनाइ छ । बाँदर नियन्त्रणका लागि देशका अन्य स्थानमा बाँदर धपाउने यन्त्र ल्याएको सुनेको भए पनि आफूहरूले भने नपाएको स्थानीयको भनाइ छ । वडावासीले स्थानीय सरकार र डिभिजन वन कार्यालय झापालाई बाँदर नियन्त्रण गर्ने उपाय खोजी गर्न आग्रह गरेका छन् । बाँदरका कारण मेचीनगरको ७ र ८ नम्बर वडावासीसमेत प्रभावित भएकाले पीडित किसानको मागअनुसार बजेट व्यवस्था गरेर बाँदर नियन्त्रणका लागि योजना अघि सार्न स्थानीयले मेचीनगर नगरपालिकासँग माग गरेका छन् ।

डिभिजन वन कार्यालय झापाका डिभिजन प्रमुख मेघराज राईले जिल्लामा बाँदर नियन्त्रणको लागि कुनै कार्यक्रम नभएको प्रतिक्रिया दिए । बाँदर नियन्त्रणको लागि अहिलेसम्म अपनाएका सबै उपाय प्रभावकारी नभएकोले कार्यालयले पनि कुनै ठोस कार्यक्रम नराखेको उनको भनाइ छ । नेपाल सरकारले हानिकारक जनावरको सूचीमा राखेका १४ वटा जनावरमा बाँदर नपर्ने हुँदा सूचीमा नपरेका जनावरबाट बालीनाली तथा मानवमा क्षति पुर्याए राहत दिने निर्देशिकामा उल्लेख नभएपछि बाँदरबाट पीडितले सरकारबाट कुनै पनि राहत नपाउने उनले जानकारी दिए ।

सरकारले हात्ती, अर्ना, बाघ, भालु, चितुवा, ध्वाँसे चितुवा, अजिङ्गर, हिम चितुवा, गौरीगाई, बँदेललगायत १४ जातका जनावरलाई हानिकारक जनावरको सूचीमा राखेको छ । बाँदर नियन्त्रणका लागि घरेलु विधि तथा पासो थाप्ने विधि अपनाउनु पर्ने राईको भनाइ छ । तर,अन्य जनावरको तुलनामा बाँदर अलि बाठो हुने भएकाले पासो थापेको थाहा पाउने बित्तिकै वैकल्पिक मार्ग खोज्न थाल्ने उनको भनाइ छ । बाँदर पीडितहरू डिभिजन वन कार्यालयमा समस्या लिएर आउने गरेको उनको भनाइ छ ।