विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको खानेपानी मुहान शिवजट्टा ‘पिकनिक स्पट’ बनेको पाइएको छ ।
धरानेहरूले गर्मी छल्न प्रतिष्ठानको खानेपानीको मुख्यस्रोत शिवजट्टा गई नुहाउनेलगायतका गतिविधि गरिरहेका हुन् । खानेपानीको मुहान खुल्ला भएकाले गर्मी छल्दै खानपिनका लागि शिवजट्टा पुग्ने गरेका छन् । खानेपानीको मुहानमा नुहाउने, लुगा धुने, टिकटक बनाउँदै रमाइलो गर्ने गरिएको छ । जसले खानेपानी प्रदूषित बनिरहेको छ ।
यसको कारण उचित व्यवस्थापन गरी खानेपानी र पिकनिक स्पटको अलग व्यवस्थापनको अभाव भएको स्थानीय बताउँछन् । ब्लाष्टकर्मी जेठ २२ गते शिवजट्टा पुग्दा खानेपानीको मुहानमा युवायुवतीहरू नुहाउँदै पानीमा रमाइलो गरिरहेका थिए । मुहान पुग्नुअघि नै भेटिएकी एक स्थानीयले भनिन्, ‘खानेपानीको मुहानमा कपडा धुन, नुहाउन पाइँदैन । त्यही पनि आइहाल्नुभएछ जानु नि ।’ उनले बीपी प्रतिष्ठानको खानेपानीको मुहान रहेको बताइन् । सुरक्षाकर्मीहरू छैनन् त भन्ने जिज्ञासामा ती स्थानीयले भनिन्, ‘छन् तर, अहिले बाहिर गएका होलान् ।’
त्यसपछि शिवजट्टा खानेपानीको मुहानमा पुग्दा दर्जन बढी मानिस रमाइरहेका थिए । कोही नुहाउँदै, कोही पानीमा टिकटक बनाउँदै त कोही मासु पोल्नका लागि आगोको व्यवस्थापन गरिरहेका थिए । शिवजट्टामा समूह–समूहमा गएर नुहाउने, खाने, पिउने र रमाइलो गर्दै गर्मी छल्ने गर्दा रहेछन् । आन्तरिक पर्यटकको ‘हब’ बन्दै गएको हुनाले उचित व्यवस्थापन हुनु जरुरी देखिएको ती स्थानीयले बताइन् ।
शिवजट्टामा एक घण्टा अवलोकन गर्दा करिब १० समूह जति विभिन्न सरसामान बोकेर आए । त्यहाँ आउनेहरू प्रायः खाने, पिउने र गर्मी छल्न नुहाउने उद्देश्यले आउने गर्दा रहेछन् । खानेपानीको मुहान क्षेत्रमा बियरका बोतल, चाउचाउ, बिस्कुटलगायतका फोहोरहरू रहेका थिए ।
बीपी प्रतिष्ठान भने यस विषयमा अनभिज्ञ छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. चूरामणि पोखरेलले संरक्षणका लागि दुईजना कर्मचारी राखिएको बताए । उनले भने, ‘शिवजट्टाकै स्थानीयलाई प्लम्बरको रूपमा राखिएको रहेछ ।’ उनले पानीको मुहानको संरक्षण गर्ने र समस्या आइपरेमा तत्काल समाधान गर्न स्थानीयलाई राखिएको बताए । ‘जानकारी पाउनासाथ तुरुन्तै निर्देशन गइसकेको छ, अब छलफल गरेर दीर्घकालीन समाधान गर्छौं ।’