ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र (ओम शान्ति) चतराले स्थापनाको २१ औं वर्ष मनाएको छ । बिहीबार वराहक्षेत्र–२ स्थित सेन्टरमा आयोजित कार्यक्रममा ईश्वरीय ज्ञानको परिचर्चा गरिएको छ ।
बह्माकुमारी राजयोग सेवा केन्द्र कोशी प्रदेशकी संचालिका गीता दिदीले सच्चा ज्ञानको माध्यमबाट मात्रै मानिस पवित्र बन्न सक्ने बताइन् । यसको लागि ईश्वरीय ज्ञानको स्मरण गरिनु एकमात्र उपाय भएको उल्लेख गरिन् ।
‘मानिसलाई नरबाट नारायण र नारीबाट लक्ष्मी बनाउने उत्कृष्ट ज्ञानमार्ग विचार र आचारमा पवित्रता र एकरुपता हो ।’ गीता दिदीले भनिन् ।
‘शिव बाबा परमात्माले दिनुभएको शुभ सन्देशलाई जीवनमा अपनाएर अल्पबाट सम्पूर्ण बन्न सबै लाग्नु पर्छ,’ धरान सेन्टरकी संचालिका नानु मैयाँ दिदीले भनिन्,‘हरघडी अन्तिम घडीको मन्त्रलाई चरित्रमा उतारी गुणवान् चरित्रवान् बन्न अहिलेको तमोप्रधान युगमा आवश्यकता रहेको छ ।’
इटहरी सेन्टरकी संचालिका शारदा दिदीले जनकल्याणको लागि शिव बाबाको ज्ञान महायज्ञमा होमिनु नै जीवनको सच्चा योग भएको बनाइन् । पुण्य तथा सत्यकर्म गरेर आफूलगायत समाज र सारा मानव जातिको हित, सुख शान्ति भातृत्व र विश्व बन्धुत्वको सन्देश दिनु पर्ने बताइन् ।
ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र चतराले समाजमा सकारात्मक सन्देश दिएको भन्दै २१ औं स्थापनको दिवसको अवसरमा स्थानीय भद्रभलाद्मीले शुभकामना दिए । ओमशान्तिले जात, धर्म, सम्प्रदाय र संस्कार संस्कृतिभन्दा माथि उठेर एकमात्र मानव र विश्व कल्याणको शिक्षा दिएको इलाका हुलाका कार्यालय चतराकी प्रमुख शोभा कटुवालले बताइन् ।
स्थापना दिवसमा भेडेटार, रामपुर, धरान, इटहरी, भरौल, चक्रघट्टी, सेतीखोला र विराटनगरका ओमशान्ति सेन्टरका सयौं ब्रह्मकुमार र ब्रह्मकुमारीहरुको उपस्थिति रहेको थियो । चतरा उपसेवा केन्द्रकी संचालिका संगीता दिदीले उपस्थितलाई धन्यवाद दिइन् । चतरा उपसेवा केन्द्र चरित्र निर्माणका समर्पित रहेको बताइन् ।