धनकुटा । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले काङ्ग्रेस जनताको पार्टी हुन अहिले पार्टीमा देखिएको सत्तामोह त्याग्नु गर्ने बताएका छन् ।
नेपाली काङ्ग्रेसले धनकुटाले (१४ औँ महाधिवेशनपश्चात्) आयोजना गरेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले त्यस्तो बताएका हुन् । उनले प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘काङ्ग्रेस सरकारमा जानको लागि अरूलाई मत हाल्न र अरूको मत लिन तयार हुन्छ भन्ने जनमानसमा परेको छ ।’ नेपाली काङ्ग्रेसले सरकार टिकाउन गरिने सम्झौताबाट बाहिरिनु पर्ने उनको भनाइ थियो । अहिले काङ्ग्रेसको गतिविधिबाट कार्यकर्ता र देशमा निराशा छाएको बताउँदै महामन्त्री थापाले भने, ‘यसलाई सच्याउन बारम्बार पार्टी मूल नेतृत्वलाई दबाव दिइरहेका छौँ, तर सुनुवाइ भएको छैन ।’
पूर्वमन्त्रीसमेत रहेका महामन्त्री थापाले भने, ‘काङ्ग्रेसले सहकार्यको मात्रै राजनीति गर्छ, निषेधको राजनीति कहिल्यै गर्दैन ।’ उनले पछिल्लो समयमा नेपाली नागरिक अताल्लिएको, छट्पटाइरहेको र उकुसमुकुस भैरहेको देशव्यापीरूपमा आफूले पाएको बताए । नेता थापाले भने, ‘पार्टी आजभन्दा भोलि राम्रो हुन्छ भन्ने दिन कुनै पनि राजनीतिक पार्टी सरकारमा गएर नेपाली जनतालाई विश्वास दिलाउन नसकेकाले नेपाली जनता निराश भएका छन् ।’ उनले नेपाली जनता निराश हुनुहुँदैन भन्दै थापाले भने, ‘अब नेपाली काङ्ग्रेसले नेपाली जनता नआत्तिनुहोस्, हामी छौँ भनेर भन्न सक्नु पर्छ ।’
जिल्ला सम्मेलनमा सहभागी नेता तथा कार्यकर्ताहरूलाई इङ्गित गर्दै उनले भने, ‘अब काङ्ग्रेस बजारकेन्द्रित हैन, गाउँ–टोल केन्द्रित हुनुपर्छ, साँच्चिकै सक्कली काङ्ग्रेस त त्यहाँ छन् ।’ नेपाली काङ्ग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न प्रथम जिल्ला सम्मेलनमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी, प्रदेश सह–महामन्त्री खड्ग फागो, सहिदपुत्र मनोहरनारायण श्रेष्ठ, प्रदेश सांसद् इन्दिरा थापा, पुर्व प्रदेश सांसद् लीला सुब्बा, नेता आनन्दसन्तोषी राईलगायतले सम्बोधन गरेका थिए ।