सुनसरी । कोसी गाउँपालिकाले धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको धानको बिउ वितरण गरेको छ ।

कोसी गाउँपालिकाका विभिन्न वडाका ३५ जना किसानलाई ५० प्रतिशत अनुदानमा बिहीबार धानको बिउ वितरण गरेको कोसी गाउँपालिका कृषि शाखा प्रमुख सुनिलकुमार साहले जानकारी दिए । गाउँपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्षजस्तै यसवर्ष पनि अनुदानमा धानको बिउ वितरण गरेको उनले बताए ।

किसानलाई राधा १२, चैते १, चैते २, रामधान, कान्छी (स्वर्णा, सवन र रञ्जित) धानको बिउ दिइएको छ । समूह, सहकारी र व्यक्तिगतरूपमा किसानको मागअनुसार धानको बिउ वितरण गरेको हुनाले यसको सदुपयोग गर्दै आगामी दिनमा धान उत्पादन बढाउन किसानलाई कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले आग्रह गरे । गाउँपालिकाको माटो सुहाउँदो नयाँ प्रजातिको धानको बिउ वितरण गरिएको हुँदा आगामी वर्ष धानको उत्पादन बढ्ने कृषि शाखा प्रमुख साहको भनाइ छ ।

वितरण गरिएको धानको बिउ ३० बिघा क्षेत्रफलमा रोप्नका लागि पुग्ने बताउँदै उनले धानको उत्पादन बढाएर किसानको आयस्तरमा वृद्धि ल्याउने लक्ष्य राखेको बताउँछन् । कृषि सुधार कार्यक्रमअनुसार वार्षिक रूपमा गाउँपालिकाले धानको उत्पादन बढाउन किसानलाई प्रोत्साहित गर्न बिउ, कृषि औजार, यन्त्र, मलखाद, विषादी र प्रविधिमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष अन्सारीले बताए ।

‘कोसी गाउँपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राख्दै कृषिलाई आधुनिकीकरण गर्न अनुदान कार्यक्रमका साथै किसानलाई तालिम दिने काम गरिरहेको अवस्था छ’ उनले भने, ‘कृषि क्षेत्रको अध्ययन गर्न र तथ्याङ्क सङ्कलन गर्नका लागि विज्ञ नियुक्त गरी काम भइरहेको छ ।’