वराहक्षेत्र । ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र चतराले संस्थाको २१ औँ स्थापना दिवस मनाएको छ । बिहीबार वराहक्षेत्र–२ स्थित संस्थाको सेन्टरमा आयोजित कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कोशी प्रदेशकी सञ्चालिका गीता दिदीले सच्चा ज्ञानको माध्यमबाट मात्रै मानिस पवित्र बन्न सक्ने बताइन् । 

मानिसलाई नरबाट नारायण र नारीबाट लक्ष्मी बनाउने उत्कृष्ट ज्ञानमार्ग भएको विचार र आचारमा पवित्रता तथा एकरूपता ल्याउन आवश्यक रहेको दिदीले बताइन् । धरान सेन्टरकी सञ्चालिका नानु मैयाँ दिदीले शिव बाबा परमात्माले दिएको शुभसन्देशलाई जीवनमा अपनाएर अल्पबाट सम्पूर्ण बन्न सबै लाग्नुपर्ने बताइन् । इटहरी सेन्टरकी सञ्चालिका शारदा दिदीले जनकल्याणको लागि शिव बाबाको ज्ञान महायज्ञमा होमिनु नै जीवनको सच्चा योग भएको बताइन् । 

कार्यक्रममा अतिथिहरू प्रभु बैङ्क चतरा शाखाका प्रमुख तीर्थमणि काफ्ले, नेपाल शिक्षक सङ्घ वराहक्षेत्रका सभापति कृष्णप्रसाद गुरागाईं, बयरवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्णबहादुर खड्कालगायतले केन्द्रले समाजमा सकारात्मक सन्देश दिएको बताए । उनीहरूले जात, धर्म, सम्प्रदाय, संस्कार र संस्कृतिभन्दा माथि उठेर एकमात्र मानव र विश्व कल्याणको शिक्षा दिएको बताए ।