अपांगता रोकथाम तथा पुनःस्थापना गर्ने उदेश्यले धनकुटामा दुईदिने ‘अपांगतामैत्री’ अभिमूखीकरण शुक्रबार सम्पन्न भएको छ । 

नगरस्तरीय अपांगता रोकथाम तथा पुनःस्थापना संस्था धनकुटाले आयोजना गरेको ‘अपांगतामैत्री अभिमूखीकरण कार्यक्रम’ मा विभिन्न वडाका १८ जनाले भाग लिएका थिए । 

धनकुटा नगरपालिका र करुना फाउण्डेशनको आर्थिक सहयोगमा दुई दिनसम्म संचालन भएको अभिमूखीकरण गोष्ठीमा मिलिजुली समूह तथा संस्थाका पदाधिकारीलाई क्षमता विकासका लागि सचेतना तालिम प्रदान गरिएको थियो । 

‘धनकुटा नगरको १० वटै वडामा कति अपांगता भएका व्यक्तिहरु के–कस्तो अवस्थामा रहेका छन्, भनेर पहिचान गर्न अभिमूखीकरण कार्यक्रम आयोजना गरिएको हो,’ धनकुटा नगरपालिकाकी उप–प्रमुख भीमादेवी खनालले भनिन्, ‘आगामी दिनमा नगर क्षेत्रका १० वटै वडाका अपांगता भएका व्यक्तिहरुको पहिचान गरेर थप कार्यक्रम गर्ने व्यवस्था मिलाउने छौं ।’

दुई दिनसम्म संचालन भएको अभिमुखीकरण प्रभावकारी भएको तालिममा सहभागी धनकुटा–६ आत्माराकी देवी पोख्रेलले बताइन् । 

तालिमको सजहजीकरण धनकुटा स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारी, महिला विकास अधिकृत फूलमाया तामाङ र करुणा फाउन्डेशनका सुदर्शन ढकालले गरेका थिए ।