धनकुटा । धनकुटा नगरपालिका–४ भोटेचौताराका समाजसेवी एवम् पूर्व जनप्रतिनिधि खड्गबहादुर पाख्रीन तामाङको ८८ वर्षको उमेरमा बिहीबार आफ्नै निवासमा निधन भएको छ ।

स्वर्गीय समाजसेवी पाख्रीनलाई स्थानीयवासीले भने ‘देब्रेवासको बाघ’ को उपनामले समेत बोलाउने गरेका थिए । उनको जेठ २५ गते निधन भएको हो । तीन महिनाअघि लडेर पाख्रीनको देब्रे हातको पातोमा घाउ भएको थियो । घाउ इन्फेक्सन भएपछि खड्गबहादुरको स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्यमा एक्कासि समस्या आएपछि जँचाउन अस्पताल जाँदा देब्रे पाताको कुइनामा ऐँजेरु पलाएर क्यान्सर भएको अस्पतालले प्रमाणित गरेको थियो । यसैबीच उनको आफ्नै घरमा निधन भएको धनपा वडा नं.४ का वडासदस्य एवम् ह्रिन्छेन छ्योलिङ गुम्बा भोटे चौताराका व्यवस्थापक इमानसिं वाइबाले बताए । स्वर्गीय पाख्रीनको धनकुटा–४ भोटे चौतारामा रहेको बौद्ध दाहसंस्कार स्थलमा बौद्ध धर्म परम्पराअनुसार अन्त्येष्ठि गरिएको छ ।

स्वर्गीय पाख्रीन वि.सं.२०३५ सालदेखि ०३९ सालसम्म तत्कालीन धनकुटा नगर पञ्चायत साविकको वडा नं. १ का वडा सदस्य भएर समाजको सेवा गरेका थिए । नेपाल प्रहरीमा पनि केही वर्ष सेवा गरेका पाख्रीनलाई नजिकबाट चिन्ने धनकुटा नगरपालिका वडा नं.४ का निवर्तमान वडासदस्य वीरबहादुर योञ्जनले बताए ।

त्यसैगरी ०६२/६३ को जनआन्दोलनपछि गठित नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाको सल्लाहकार भएर उनले समाजको सेवामा योगदान गरेका थिए । उनले तामाङ समाजका भाषा, संस्कार, संस्कृतिलाई जोगाएर लानको लागि ठूलो योगदान पु¥याएको ह्रिन्छेन छ्योलिङ गुम्बाका व्यवस्थापक इमानसिंह वाइबाले बताए । स्वर्गीय पाख्रीन जनप्रतिनिधि भएको समयमा धनपा–४ भोटे चौतारामा बौद्ध दाहसंस्कार स्थलको लागि नगरपालिकासँग आवश्यक समन्वय गरेर जग्गा व्यवस्थापन गरेका थिए । त्यसैगरी बौद्ध दाहसंस्कार स्थलनजिकै मलामीले खाजा खाने पाटी (खाजाघर)समेत निर्माण गर्ने कार्यमा योगदान गरेका थिए ।

उनको १ श्रीमती रमा पाख्रीन तामाङ, जेठा छोरा सुनिल पाख्रीन, बुहारी ममतास मोक्तान तामाङ, कान्छा छोरा अनिल पाख्रीन, बुहारी दिलकुमारी घिसिङलगायत दर्जनौँ नाति÷नातिनीहरू रहेका छन् । पाख्रीनका २ छोरा बुहारीहरू वैदेशिक रोजगारीको सिलसिलामा बेल्जियममा रहेका छन् । बुबा बिरामी भएपछि केही समयअघि जेठा छोरा सुनिल भने घर आएका थिए ।

यसैबीच नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाले स्वर्गीय पाख्रीनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवार जनमा हार्दिक समवेदना व्यक्त गरेको छ । घेदुङ नगर समिति धनकुटाका अध्यक्ष कुलबहादुर तितुङद्वारा जारी शोक वक्तव्यमा भनिएको छ–‘स्वर्गीय पाख्रीनको निधनले सिङ्गो धनकुटाको तामाङ समाजको लागि अपूरणीय क्षति पुगेको छ ।’ ‘स्वर्गीय पाख्रीनले धनकुटाको तामाङ समाजको लागि गरेको योगदानको उच्च कदर एवम् मूल्याङ्कन गर्दै स्वर्गीय आत्माको चिरशान्तिको लागि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’ –शोक वक्तव्यको अन्त्यमा भनिएको छ ।