भद्रपुर । झापा भद्रपुर नगरक्षेत्रभित्रका विभिन्न विधाका खेलाडीलाई टिकाइराख्ने उद्देश्य राखेर  भद्रपुरमा प्रथम चन्द्रगढी सांस्कृतिक तथा साङ्गीतिक महोत्सव हुने भएको छ ।

आज (जेठ २८) देखि आगामी असार ९ गतेसम्म भद्रपुर–८ स्थित मेची रङ्गशालानजिकै रहेको जिल्ला समन्वय समितिको जग्गामा महोत्सव सञ्चालन हुने भएको हो । बिहानै उठौँ मेची रङ्गशालामा जुटौँ, स्वस्थ्य रहौँ भन्ने उद्देश्य लिएर केही वर्षयताबाट सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको चन्द्रगढी भेट्रान्स क्लबको आयोजनामा महोत्सव सञ्चालन हुने भएको आयोजकले जानकारी दिएको छ । क्लबका सचिव भूपाल कार्कीले दिएको जानकारीअनुसार झापा सदरमुकाम क्षेत्रका खेलाडीलाई बचाइराख्न मेलाको आयोजना गरिएको हो ।

मेलाको बचतबाट क्लबको कोष वृद्धि गर्दै खेल क्षेत्रमा रकम लगानी गरिने उनले जनाए । प्रशासनले दिएको सर्तअनुसार मेला सञ्चालन गरिने उनले दाबी गरे । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आयोजना गरिएको महोत्सवमा नियम उल्लङ्घन नगरी शान्त वातावरणमा सम्पन्न गरिने उनले जनाए ।

महोत्सवमा रोटेपिङ, नाउ, ड्रागन, चिल्ड्रेनपार्कजस्ता रमाइला खेलहरू रहने क्लबका सदस्य बिकी जैसवालले जानकारी दिए । देशका स्थानीय तथा ख्यातिप्राप्त कलाकारहरूको बेजोड प्रस्तुति रहने महोत्सवमा २० वटाभन्दा माथि व्यापारका विभिन्न स्टल रहने उनले जनाए ।

स्टलका लागि निर्माणाधीन जीपी भवनको भूईं तलालाई प्रयोग गरिने जनाइएको छ ।  बचेको रकममध्ये केही दीन–दुःखीलाई सहयोग, खेलाडीलाई आवश्यक सामग्री खरिदलगायत सामाजिक कार्यमा समेत सहयोग गरिने जनाइएको छ । महोत्सवको उद्घाटन भद्रपुर क्रिकेट सङ्घका अध्यक्ष तथा उद्योगी आदित्य पराजुलीले गर्ने आयोजकले जनाएको छ ।