बिर्तामोड । नेकपा (एमाले)को भातृसङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २१ औँ अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ । बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोजकले तयारीका विषयमा जानकारी गराएको छ ।

आयोजक समितिका संयोजकसमेत रहेका जिल्ला अध्यक्ष रोशन लामाले २९ गते उद्घाटन हुने अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्न सफल हुने दाबी गरे । उनले नेतृत्वका आकाङ्क्षी एकभन्दा बढी भए लोकतान्त्रिक विधि अपनाएर जिल्ला कमिटी छनौट गरिने जानकारी दिए । नेपाली विद्यार्थीको सबैभन्दा ठूलो सङ्गठन अनेरास्ववियु भएको भन्दै लामाले यसको इतिहास कायम गर्नका लागि सबल हुने नेतृत्व चयन गरिने बताए । नेपाली विद्यार्थीको सबैभन्दा ठूलो सङ्गठन अनेरास्ववियुको इतिहास कायम गर्नका लागि सबल हुने नेतृत्व चयन गरिने जनाए । आफ्नो कार्यकालमा सङ्गठनको धरातल उच्च बनाउन सकेको भन्दै लामाले त्यो विरासत थाम्ने नेतृत्व आउने बताए ।

कार्यक्रममा सहभागी नेकपा (एमाले) झापाका उपसचिव असारु राजवंशीले अनेरास्ववियु सबैभन्दा जुझारु र चलायमान सङ्गठन भएकाले यसको नेतृत्व स्थापित गराउन पार्टी नेतृत्वको पनि भूमिका हुने बताए । उनले विद्यार्थीहरूको एकता नै अनेरास्ववियुको शक्ति भएकाले एकजुट भएर अधिवेशनमा सहभागी हुन अनुरोध गरे । जिल्ला अधिवेशनमा ७ सय ३ जना विद्यार्थी प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

बिर्तामोडको सिटी सेन्टरमा हुने अधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा हालका उपाध्यक्ष बलराम गिरी र सचिव नारायण पोखरेल अध्यक्षको उम्मेदवार हुने चर्चा रहेको छ । दुवै उम्मेदवारले नतिजा आफ्नो पक्षमा पार्न दौडधुप सुरु गरेका छन् ।