धरान । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नेपालका नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङले जितेका छन् ।

उनले अन्तिम दिन ७ अन्डर ६५ को उत्कृष्ट स्कोर बनाउँदै समग्रमा २१ अन्डर २ सय ६७ सहित ट्रफी जिते । उनीसँग प्रतिस्पर्धामा रहेका अर्का एमेच्योर खेलाडी सद्भाव आचार्यलाई चार स्ट्रोकले हराए । सुवासको यो सिजनको दोस्रो र करियरको पाँचौँ प्रो. उपाधि हो । उनले शुक्रबार प्रो. र एमेच्योर दुवैतर्फको ट्रफी आफ्नो पोल्टामा पारे । राष्ट्रिय टिमका खेलाडी युवा गल्फर सद्भावले १ अन्डर ७१ सहित समग्रमा १७ अन्डर २ सय ७१ को स्कोरमा दोस्रो स्थान प्राप्त गरे । यता धरानका नीरज तामाङले शुक्रबार ४ अन्डर ६८ को स्कोर निकाल्दै समग्रमा १२ अन्डर २ सय ७६ सहित तेस्रो भए । तर, व्यावसायिक गल्फरतर्फ उनी च्याम्पियन भए । उनले २ लाख ७० हजार नगद पुरस्कार पाए । साविक विजेता धरानकै शुक्रबहादुर राईले अन्तिम दिन ४ अन्डर ६८ खेल्दा  समग्रमा ११ अन्डर २ सय ७७ सहित चौथो भए । व्यावसायिकतर्फ दोस्रो भएका उनले १ लाख ७० हजार प्राप्त गरे । यो पुरस्कार राशिसँगै शुक्र नेपालमा नम्बर वान खेलाडीको स्थानलाई सुरक्षित राखे । यो सिजनमा उनले कुल ६ लाख ३४ हजार प्राप्त गर्दै सर्वाधिक पुरस्कार हात पारेका छन् ।

भूवन नगरकोटीले समग्रमा ५ अन्डर २ सय ८३ स्कोर गर्दै पाँचौँ भए । व्यावसायिकतर्फ भने उनी तेस्रो भएका छन् । अन्तिम दिनको खेल इभन–पार ७२ मा सकाएका थिए । उनले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे । २ ओभर ७४ स्कोर गर्दै समग्रमा ३ अन्डर २ सय ८५ सहित दिनेश प्रजापति छैठौँ भए । उनले नगद एक लाख प्राप्त गरे ।

यसैगरी समग्रमा १ अन्डर २ सय ८७ सहित तोरणविक्रम शाही सातौँ भए । अन्तिम १८ होलको खेल बाँकी छँदा सुवास सद्भावभन्दा दुई स्ट्रोकले पछि थिए । सुवास र तेस्रो दिनका लिडर सद्भावले फ्रन्ट नाइन समान ३ अन्डर ३३ मा सकाए । दुवैले तेस्रो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । अन्तिम नौ होलको खेल बाँकी छँदा सद्भावसँग दुई स्ट्रोकको अग्रता कायमै थियो । तर, ब्याक नाइनमा सद्भावले खेल बिगारे । १६ औं होलमा बर्डी प्रहार गरे पनि १० औँ, १३ औँ र १४ औँ होलमा एक–एक सट खेर फाले । यता सुवासले भने १० औँदेखि १३ औँ होलसम्म लगातार तीन बर्डी प्रहार गरे । १४ औँ होलमा एक सट खेर फाले पनि ५ पारको १५ औँ होलमा इगलको सफलता प्राप्त गर्दै ब्याक नाइन ४ अन्डर ३२ मा पूरा गरे र सहजै उपाधि आफ्नो नाममा लेखाए ।

नीरजले फ्रन्ट र ब्याक नाइन दुवै २ अन्डर ३४ मा सकाए । दोस्रो, तेस्रो र आठौँ होलमा बर्डी प्रहार गर्दा चौथो होलमा बोगी खेपे । यसपछि १३ औँ र १५ औँ होलमा एक–एक सट खेर फाले । उपाधि रक्षा गर्न चुकेका शुक्रले पनि फ्रन्ट र ब्याक नाइन दुवै २ अन्डर ३४ मा सकाए । उनले पहिलो, तेस्रो, सातौँ तथा ११ औँ देखि १४ औँ होलमा चार गरी कुल सात बर्डी प्रहार गरे । उनले नवौँ, १५ औँ र १८ औँ होलमा बोगी खेपे ।

सूर्य नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक रवि के रायभरम, एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र नेपाल गल्फ सङ्घका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे । प्रोफेसनल गल्फर्स एसोसिएसन एनपीजीए नेपालको आयोजना तथा सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा सम्पन्न प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडी सहभागी थिए । कुल १५ लाख २० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिताको शीर्ष २१ खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा शनिबार सम्पन्न प्रो–एमको उपाधि व्यावसायिक गल्फर दिनेश प्रजापति र टिमले हात पारेको छ । प्रतियोगितामा दिनेशसहित एमेच्योर खेलाडीहरू समिर आचार्य, कर्णेल प्रताप बोहरा र अर्जुनकुमार कार्कीको टिमले १ सय ६२ अङ्कसहित उपाधि जितेको हो । दिनेश र समिरले ४१–४१ अङ्क जोडे भने प्रताप र अर्जुनले ४०–४० अङ्क प्राप्त गरे । यसैगरी प्रो. भूवन  नगरकोटी र एमेच्योर खेलाडीहरू टासी छिरिङ, उज्वल प्रधानाङ्ग र सुनिल कार्कीको टोलीले १ सय ५३ अङ्कसहित दोस्रो स्थान प्राप्त ग¥यो । भूवन, उज्वल र सुनिलले समान ३८ अङ्क जोड्दा टासीले ३९ अङ्क बनाए । धरानका प्रो. बलभद्र राई तथा एमेच्योर खेलाडीहरु भाइराजा पाण्डे, काल्साङ्ग लोधे शेर्पा र राजु थकाली १ सय ५१ अङ्कसहित तेस्रो भए । बलभद्रले ३७ अङ्क जोडे । एमेच्योर खेलाडीहरू भाइराजा, काल्साङ र राजुले समान ३८ अङ्क बनाए ।