विजयपुर । धरान उपमहानगरमा खानेपानीको चरम अभाव भएपछि कोशी प्रदेशसभाका सदस्यले चासो देखाएका छन् ।

प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत र विजय राईले तत्काल खानेपानी समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा चासो देखएका छन् । आइतबार प्रदेशसभा सदस्य बस्नेत र राईले स्थलगतरूपमा अनुगमन गरी वास्तविकता बुझेका छन् । उनीहरूले चारकोसे जङ्गलमा रहेको भूमिगत स्रोतको स्थलगत रूपमा अनुगमन गरेका हुन् ।

स्थलगत अनुगमनमा भूमिगत पानी तान्ने तीनवटा वेल सञ्चालनमा नरहेको पाइएको छ । प्रदेशसभा सदस्य बस्नेतले आफूहरू जानकारीका लागि स्थलगत निरीक्षणमा गएको बताए । खानेपानीको चरम अभाव भएपछि जनप्रतिनिधिको नाताले तत्काल कसरी पानी व्यवस्थापन गर्न सकिन्छ भनेर अनुगमन गरेको बताए ।

उनले भने, ‘तत्काल खानेपानीको समस्या समाधानमा के कसरी गर्न सकिन्छ भनेर मेयरसँग पनि छलफल गर्छौं ।’ उनले दीर्घकालीनभन्दा पनि नागरिकलाई अहिले कसरी राहत पुर्याउन सकिन्छ भनेर अनुगमन गरेको बताए । अहिले प्रदेश सरकार र नगरको बजेटमा तत्काल समाधानका विकल्प खोज्न सकिने बताए ।

प्रदेशसभा सदस्य विजय राईले खानेपानीको चरम अभाव भएकाले तत्कालका लागि समाधान गर्न के गर्ने भनेर जानकारी लिएको बताए । उनले भने, ‘अनुगमनभन्दा पनि जानकारीका लागि स्थलगत गएका हौँ ।’ उनले तत्काल समाधानमा नगरप्रमुख हर्कराज राईलाई सहयोग गर्ने बताए । उनीहरूले सुम्निमा र विजयपुर ट्याङ्कीको पनि निरीक्षण गरेका थिए ।