विजयपुर । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक) ले मुलुकको प्राकृतिक स्रोत साधन बेच्न नदिने बताएका छन् ।

सोमबार धरानमा सुनसरी जिल्ला पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘नेपालको प्राकृतिक स्रोतहरू विदेशी दलालहरूसँग मिलेर बेच्न खोजिँदैछ । हामी बेच्न दिँदैनौँ ।’ उनले राज्यसत्ता सञ्चालक र नेताले मुलुक दुर्घटनातिर धकेल्ने सम्भावना रहेको पनि बताए । उनले आफ्नो पार्टीले सबै नेपालीहरूको पहिचान र सह–अस्तित्व चाहने बताए । उनले भने, ‘प्रदेशको कोशी नाम खारेज नभएसम्म आन्दोलन जारी राख्नेछौं ।’  उनले आन्दोलन सबै पहिचानवादीको भएकाले कोशी प्रदेश नाम खारेज गराउने काम सबैको भएको बताए । यस्तै पार्टीका केन्द्रीय उपमहासचिव तथा सुनसरी इन्चार्ज भूपेन्द्रसुन्दर लावतीले भने, ‘नेपाल आमाप्रतिको बलात्कार कसले जिम्मा लिने, जताततै भ्रष्टाचार नै भ्रष्टाचार छ । ठूलाठूला नेताहरूको कारणले मुलुक नै भारतमा गाभिने सम्भावना देखिँदैछ ।’ उनले सबै  नेपाली जनतालाई सचेत रहन आग्रह गरे । उनले सेउती खोलामुनीको सडक–खण्ड धुलोका कारणले हिँड्न नसक्ने अवस्था भएको बताए । उनले असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बताउँदै भने, ‘सम्झौता अवधिमा सम्पन्न नभएमा ठेकेदारविरुद्ध पार्टीले एक्सन लिन्छ ।’ पार्टीको उपाध्यक्ष ज्ञानु हाङ इम्बुङले पहिचान र अस्तित्वको मुद्दा एकातिर भए पनि आफ्नै साथीहरू अन्तैतिर लागेको बताए । सुनसरी क्षेत्र नं. १ का इन्चार्ज कुमार थेम्सुहाङले पार्टीको अन्तरिक कलह गर्ने अवसरवादीहरू, अन्तर पार्टीमा प्रवेश गरेपछि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च स्वस्थ भएको बताए । सुनसरी क्षेत्र नं.४ का इन्चार्ज अब्बास मियाँले मुस्लिमहरूको पहिचान र अस्तित्वको मुद्दा बोक्ने सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मात्र भएको बताए ।

एलभी सह–कमान्डर तथा केन्द्रीय सदस्य भूपालले लिम्बुवान सुरक्षा परिषद्ले पार्टीको सुरक्षा गर्ने बताए । एलभी सीनियर कमान्डर तथा सङ्गठन विभाग प्रमुख गणेश मिभकले कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा आफू घाइते भएको बताउँदै भने, ‘निको भएको छु तर, मलाई पिट्ने प्रहरीलाई बिर्सेको छैन ।’ अबको आन्दोलन सशक्त हुने उनले बताए । खस प्रान्तीय मञ्चका केन्द्रीय उपाध्यक्ष रघुवीर ठगुन्नाले आदिवासी जनजाति पहिचानवादी भएको बताउँदै भने, ‘हामीलाई पनि पहिचान चाहियो, हाम्रो खसराज्य बनाउँछौँ ।’ महिला मञ्च सुनसरी अध्यक्ष सरस्वती सुब्बाले महिलाको हकअधिकार सुनिश्चित गर्ने पार्टी सङ्घीय लोकतान्त्रिक भएको बताइन् । पार्टीका धनकुटा इन्चार्ज साजन याक्खाले भने, ‘हामीलाई पहिचान र अस्तित्व चाहिन्छ ।’ कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सयजना सङ्घीय लोकतान्त्रिक मञ्चमा प्रवेश गरेको जनाइएको छ ।