रुपन्देही  । रुपन्देही तिलोत्तमा नगरपालिका बुटवलपूर्व दरखसवामा निजी क्षेत्रको लगानीमा पहिलोपटक बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भएको छ ।

अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक नामक आइटी कम्पनीले  बनाउन लागेको रङ्गशालाको प्रमुख अतिथि तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाण, एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवर र चिफ अपरेटिङ अफिसर सुदीक्षा गौतमले सँयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

पहिलो पटकको निर्माणमा ५ हजार दर्शक क्षमता बराबरको रङ्गशाला बनाउने  र त्यपछि करिब २५ हजार दर्शक क्षमताको बन्न रङ्गशाला बनाउने योजना रहेको निर्देशक कुँवरले बताए । 

करीब ४० करोडको लागतमा निर्माण हुने सो रङ्गशालाका लगानीकर्ता निर्देशक कुँवरले राष्ट्रिय क्रिकेट खेलाडी तथा रङ्गशालाका ब्राण्ड एम्वेसडर शक्ति गौचनलाई मैदानको निर्माण कार्यको सुपरिवेक्षण गर्ने जिम्मा दिएका कारण पनि आफूहरू समयमै रङ्गशाला बन्नेमा विश्वस्त रहेको बताए ।

क्रिकेट रङ्गशालामा क्रिकेट एकेडेमी पनि सञ्चालन हुने बताउँदै निर्देशक कुवँर होस्टलसहितको उक्त सुविधा र १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने ट्रेनिङ सेन्टर राखेर  गौचनलाई जिम्मेवारी दिइने बताउँछन् ।